प्रतिनिधिसभाको पहिलो बैठकमा कसले के भने ?

काठमाडाैं, पुस २५

आजबाट नयाँ प्रतिनिधिसभाको बैठक आरम्भ भएको छ । प्रतिनिधिसभाको बैठकमा सबै पार्टीका शीर्षस्थ नेताहरुले सम्बोधन गरेका छन् । बैठकमा बोल्ने अधिकाँश नेताहरूले विग्रदो अर्थतन्त्रको स्वास्थ्य सुधार गर्न वर्तमान सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

गृहमन्त्री रवि लामिछानेले भने यसअघिका सबै भ्रष्टाचारका काण्डको अनुसन्धान हुने र आफ्नो पार्टी सरकारमा उपस्थित हुनुका कारण लगायतमा जोड दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँग निर्वाचनको बेला गरिएका सुशासन र समृद्धिका साझा प्रतिवद्धताहरु पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकठाउँमा उभिन आह्वान गरे ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरु सामू जनताको अपेक्षा, गुनासो, चासो र चिन्तालाई तत्काल सम्बोधन गर्दै अघि बढनुको विकल्प नभएको पनि स्पष्ट पारे ।

जनताले आफूहरुलाई सुशासन र समृद्धिको सर्तसहित निर्वाचित गराएको उल्लेख गर्दै उनले त्यसलाई सार्थक बनाउन संसदलाई परीक्षा केन्द्रको रुपमा लिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले जनताको निरन्तर निगरानीमा रहेको तथ्यलाई नभुली जनताको अपेक्षा पूरा गर्न नयाँ संसद सफल हुने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रियाको नभई क्रियाको राजनीति गरेर मात्रै आफूहरुले मुलुकमा देखा परेका समस्याहरुको समाधानको सुत्र खोजी गर्न सकिने उनको जोड थियो । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा नयाँ दलहरुको प्रवेशलाई आफूले लोकतन्त्र र नागरिक सम्प्रभूताको जीतको रुपमा लिएको र संसदले त्यसलाई नयाँ पूँजीको रुपमा लिनुपर्ने बताए ।

संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताए । देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको बताउँदै यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप यसको कार्यान्वयन अनिवार्य शर्त भएको उल्लेख गरे ।

संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी रहेको बताउँदै उनले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यसअनुरुपका आवश्यक नीति र कानून बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।

“लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुन्छ । हाम्रो सम्पूर्ण ऊर्जा, मनस्थिति, व्यवहार र काम कारवाही नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रित हुनु पर्दछ ।

सबै माननीय साथीमा म हार्दिक अपिल गर्न चाहन्छु कि प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सवलीकरणका लागि विषेश योगदान गर्न सकोस् । हामी सबै यसमा सफल हुन सकौँ”, सभापति देउवाले भने ।

उनले लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुनःस्थापना र संरक्षणका लागि जीवन आहुति दिन हुने सम्पूर्ण सहिदमा श्रद्धाञ्जली अर्पण गर्दै देशमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न र वर्तमान संविधान निर्माण गर्न योगदान गर्नु हुने सबैप्रति उच्च सम्मान गर्दै प्रशंसा गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार बन्दै गर्दा सरकार गिराउने र गठबन्धनहरु भत्काउने प्रयास गर्न नहुने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार नयाँ सरकारको विश्वासको मत लिनेमा आफू ढुक्क रहेको बताउँदै ओलीले विगतका केही महिनामा देशले नयाँ परिवर्तन खोजेको र परिवर्तनको रुपमा नयाँ पार्टी र नयाँ सांसदहरुको उदय भएको बताए ।

उनले देशको उन्नतिको लागि सरकार बनाउने भएको भन्दै सबैले एकसाथ मिलेर काम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने चुनौति आफूहरुका अघि रहेको भन्दै आन्दोलनका घाउमा मलमपट्टी गर्ने, मुद्दा मामिलाका समस्या, शान्ति प्रक्रियाको समाधानका चुनौतिलाई समाधान गर्नुपर्ने बताए ।

उनले सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि काम गर्ने समय नहुने भन्दै गोटी चाल्ने नभइ काम गर्ने बाटो समात्न आग्रह गरे । उहाँले सरकार बन्न नपाउँदै भत्काउने षड्यन्त्रमा नलाग्न आग्रह गर्दै आफ्नो समयको सही उपयोग गर्न आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मुलुकमा कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारबारे सरकार निर्मम ढंगले प्रस्तुत हुने बताए । उनले भ्रष्टाचार र अपराधिक गतिविधिमा संलग्नहरुलाई छुटाउनका लागि कुनै पनि दवाव र प्रभाव पार्ने काम आफूलाई नगर्न पनि आग्रह गरे ।

उनले आफू र आफ्नो दलमा सम्वद्ध सांसदहरुले भ्रष्टाचारलगायतका नागरिकहरुलाई दुःख दिने कुनै पनि काम नगर्ने र गरिहाले उनीहरुमाथि कडा कारबाही गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । वर्तमान सरकारको आफ्नो कार्यकाल सफल हुने र त्यसलाई सफल बनाउनका लागि आफू र आफ्नो पार्टीले इमान्दारिताका साथ योगदान पु¥याउने दावी समेत गरे ।

उपप्रधानमन्त्री लामिछानेले आफू र आफ्नो दलले गल्ती गरे पदमा टाँसिएर बसिरहने पक्षमा नरहेको पनि पटकपटक दोहो¥याए । सरकार गठनका बेला सत्ता साझेदार एमाले र माओवादी नेतृत्वबाट आएको प्रतिवद्धताबाट आफूहरु हौसिएको उल्लेख त्यसलाई पालना गरेर सर्वसाधारणको जीवनमा परिवर्तन ल्याउन नसकिए सरकारबाट आफ्नो पार्टी बाहिरिने उनको भनाई थियो ।

उपप्रधानमन्त्री लामिछानेले आफ्नो पार्टीले आम नागरिकको आशाको दियोलाई निभ्न नदिने दृढता समेत व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर मुलुकका समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । उनले देशका हरेक क्षेत्रहरू अहिले ओरालो लागिरहेको भन्दै यसलाई सबै मिलेर समाधान गर्ने तर्फ सोँच्नुपर्ने बताए ।

उनले उमेर पुगेको भोलिपल्ट युवाहरु राहदानी बनाएर विदेश जानुपरिरहेको भन्दै यो समस्यालाई तत्काल समाधान गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए । उनले कृषकहरुलाई कृषिको लागि मल र विउ दिने कुरामा सरकारले बेलैमा सोच्नुपर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र समाजका समस्याहरुलाई पहिलो प्राथमिकता दिएर काम गर्न नयाँ सरकारलाई आग्रह गरे । नेपालले हरेक क्षेत्रमा छिटोछिटो सेवा र काम हुने र सबै खालका विचौलियाहरुको सेटिबलाई भत्काउने काममा सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले आम मानिसको जनजीवन विकराल बनिरहेको भन्दै महंगी र कालाबजारीको समस्या समाधानमा लाग्नुपर्ने बताए । युवाहरुको विदेश पलायनको क्रममलाई रोक्न पनि सरकारले आवश्यक भुमिका निर्वाह गर्न सक्नुपर्ने बताउँदै उनले अहिलेको अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेको भन्दै अर्थतन्त्रको सुधार गर्न सरकारले आवश्यक काम गर्नुपर्ने बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?