को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारी ?

गण्डकी, पुस  २५

गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा (एमाले)का नेता खगराज अधिकारी नियुक्त भए ।

प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित बन्नुभएका अधिकारीलाई संविधानको धारा, १६८(२) अनुसार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरे ।

बुबा शेषरमण उपाध्याय र आमा लीलादेवीका सन्तानका रुपमा कास्कीको बेगनासमा २०१८ साल चैत १३ गते जन्मेका अधिकारी बाल्यावस्थादेखि नै राजनीतिक संस्कारयुक्त परिवेशमा हुर्केका थिए ।

स्कुले जीवनदेखि नै राजनीतिक चेतना बढाउँदै जानुभएका उनले ११ वर्षकै उमेरमा आनन्दज्योति माविमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिको जिम्मेवारी पाए । उन २०३३ सालमा पुष्पलाल समूहको एरिया कमिटी सदस्यका रुपमा अघि बढेका थिए ।

विसं २०३६ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को कास्की जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएका अधिकारी उच्च शिक्षा अध्ययनका लागि सुरुमा काठमाडौँ पुग्नुभएकामा पुनः कास्कीमा नै फर्किएर पोखराको पृथ्वी नारायण क्याम्पस (पिएन क्याम्पस)मा विज्ञान अध्ययनका लागि भर्ना भए ।

२०३७ सालमा पिएन क्याम्पसमा स्ववियु सदस्य रहेका अधिकारी २०३८ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य रहेका थिए ।

त्यसको दुई वर्षपछि अनेरास्ववियुको उपाध्यक्षका रुपमा जिम्मेवारी सम्हाल्नुभएका उनी  २०४० सालमा पहिलो पटक पिएन क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भए  ।

दोस्रो पटक २०४१ सालमा फेरि क्याम्पसको स्ववियु सभापति बने । तत्कालीन समयमा खुलेर बहुदलको पक्षमा लागेकाले तत्कालीन प्रशासनको तारो बने उनले २०३६ सालदेखि नै अर्धभूमिगत रही पार्टी र सङ्गठनका काममा क्रियाशील रहेका थिए ।

२०४२ सालमा स्ववियु सभापति हुँदाहुँदै प्रशासनबाट पक्राउ परेका अधिकारीले २०४६ सालसम्म देशका विभिन्न स्थानमा जेलजीवन बिताए ।

कास्की, रौतहट, दमौलीलगायत जिल्लाका जेलमा पठाइएका उनी २०४७ सालमा बनेको प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालको संस्थापक केन्द्रीय सदस्य बने ।

२०४९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य भएका उनले २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

विसं २०५४ मा उनी  दलको सचेतकको जिम्मेवारी पाउनुभएको थियो । २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अधिकारी गणतन्त्र स्थापनापश्चात् सरकारको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

उनले २०७० साल चैत १३ देखि २०७२ साल असोज २५ गतेसम्म स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी लिए । २०६५ सालमा भएको एमालेको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । उनलाई पार्टीले गण्डकी इन्चार्ज, सङ्गठन विभागको सदस्य तथा पोलिटब्यूरो सदस्यको जिम्मेवारीसमेत दिएको थियो ।

२०७३ सालमा एमालेको केन्द्रीय सल्लाहकार कमिटीको उपाध्यक्षको जिम्मेवारी पाएका उनी २०७४ सालको आमनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ बाट विजयी बन्दै २०७८ साल जेठ २७ गते नेपाल सरकारको गृहमन्त्री नियुक्त भए ।

विसं २०७८ मङ्सिरमा चितवनमा सम्पन्न पार्टीको दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी हाल एमालेको स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बन्दै उनी गण्डकी प्रदेशको मुख्यमन्त्री बने ।

राससबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?