रवि लामिछाने, गृहमन्त्रालय र उनको पार्टी

रामकृष्ण शर्मा

आक्रामक कार्यशैली र जीवनशैलीका पर्याय हुन् रवि लामिछाने । आक्रामक कार्यशैलीको उनको इतिहास सबैसामु परिचित छ । अमेरिकाको १० बर्षे बसाई स्थगीत गर्दै २०६९ सालमा नेपाल आएका उनले एक टेलिभिजनबाट ६२ घण्टा लामो अन्तर्वार्ताको श्रृंखला चलाएर विश्व किर्तिमान रच्न सफल भए ।

जसबाट उनले जीवनमा जोखिम मोल्न तयार छु भन्ने प्रष्ट संकेत दिए । सिधा कुरा प्रधानमन्त्रीसँग नामको फरक टेलिभिजन कार्यक्रम चलाएर चर्चा बटुलेका उनले सिधा कुरा जनतासँग कार्यक्रम चलाउन थालेपछि जनमत आफ्नो पक्षमा पार्दै गए ।

खासगरी वैदेशिक रोजगारीमा गएका युवाहरुका समस्यालाई तत्कालै सम्बोधन गर्न र देशभित्रका व्यथितिहरुलाई टेलिभिजनका पर्दामा देखाउँदै उनीहरुमाथी कारबाहिको डण्डा चलाउन उनले गरेको पहलले रविको क्रेज बढ्दै गयो ।

टेलिभिजन कार्यक्रम गर्दै गर्दा एक जना पत्रकारको आत्महत्या दुरुत्साहन मुद्दामा चितवन हिरासतमा बसेपछि उनको चितवनसँग नाता जोडियो । उनलाई छुटाउन भन्दै दैनिक सडक प्रदर्शन गरेका चितवनबासीले रविलाई राजनीतिमा आउन प्रेरित गर्यो ।

प्रहरी कस्टडीबाट बाहिर निस्केसँगै नारायणी किनारमा जम्मा भएको हजारौँको संख्यानै राजनीतिमा हाम फाल्ने उनको महत्वकांक्षाको महत्वपूर्ण आधार बन्यो । उनले पार्टी खोले, छोटो अवधिमै संसदीय चुनावको जोखिम मोले ।

परिणामतः उनी चितवनबाटै फराकिलो मतान्तरले निर्वाचित भए । निर्वाचनमात्रै जितेनन्, उनले नेतृत्व गरेको पार्टीले अप्रत्याशित २० सिट प्राप्त गर्यो जसले उनलाई सत्ता समीकरणमा एउटा महत्वपूर्ण हिस्सेदार बनाइदियो ।

मतपरिणामपछि धेरैलाई लागेको थियो, उनी सरकारमा जाँदैनन्, प्रतिपक्ष भूमिकामै उनले आफ्नो आक्रामक शैली प्रस्तुत गर्नेछन् । तर उनी एकाएक सरकारमा सामेल भए र देशको उपप्रधान तथा गृहमन्त्री बने । रविले किन रोजे गृह मन्त्रालय ?

विभिन्न मन्त्रालयहरुको विकल्पमा गृह मन्त्रालय नै छान्नु रविले मोलेको अर्को जोखिम हो । उनले यो जोखिम त्यसै मोलेका भने होइनन् । साधन स्रोत र शक्तिका हिसाबले महत्वपूर्ण मन्त्रालय हो गृहमन्त्रालय ।

दैनिक शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान, आन्तरिक सुरक्षा र बाह्य सुरक्षा, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संगठन सञ्चालन, कर्मचारी सरुवा बढुवा, आम नागरिकको न्याय र त्यसमाथी हुने कारबाही प्रक्रिया लगायतका काम गर्ने तालुक अड्डा हो गृहमन्त्रालय ।

प्रशासनमा हुने ढिलासुस्ती, भ्रष्टाचार, कालोबजारी, तस्करी, प्राकृतिक स्रोतको चरम दोहन, गुण्डागर्दि र माफियाकरणको जर्जरता, विभिन्न नाममा हुने अवैध असुली, कमिसनका चक्कर र राजनीतिक आवरणमा हुने अपराध जस्ता विषय जनताका दैनिक चासोका विषय हुन् ।

आफूले कमाउन र अरुलाई कमाउने अवसर दिनका लागि पनि गृहमन्त्रालय अनुकूल अड्डा हो । भ्रष्टाचार र कमिसनका मुद्दा अनि जनताका दैनिक चासोसँग जोडिएको मन्त्रालय रोज्न रविलाई के ले डोर्यायो होला ?

राहदानी र नागरिकता सम्बन्धमा आफ्नै मुद्दा चलिरहेको परिप्रेक्ष्यमा गृहमन्त्रालय रोज्नुलाई केहिले रविको चलाखी तर विरोधाभास कदम भनेका छन् । तर सञ्चारकर्मीको रुपमा जनगुनासा र चासोका विषय उठान गरेका रविले आफ्नो अनुभव अनुसारको मन्त्रालय रोजेको पनि भन्न सकिन्छ ।

आफ्ना विरुद्धको मुद्दालाई प्रभाव पार्न हतार हतार उनले गृहमन्त्रालय मागेको र इच्छा अनुसार सफल पनि भएको एउटा विश्लेषण होला । हुन त विरोधीहरुले अमेरिकामा उनीसँग सम्बन्धित केही मुद्दाको किनारा लागिनसकेको र त्यसको निरुपणका लागि पनि सत्ताको उपयोग गर्न खोजेको आरोप पनि लगाउँछन् तर पुष्टि नभएका त्यस्ता कुराले रविको गृहमन्त्री बन्ने यो कदमलाई न्याय नगर्न सक्छ ।

सञ्चारकर्मी हुँदा रविले भोगेका हुन सक्छन्, अपराध भएको देखेको छ, तर गृह प्रशासन साथमा नहुँदा कारबाहि गर्न सकिएन । सबैले देखे भोगेकै कुरा हो, सुन तस्करी भइरहेको छ, ढुंगा गिट्टी लगायत प्राकृतिक स्रोतको खुलेआम दोहन भइरहेको छ ।

रविलाई लागेको हुनसक्छ, राजनैतिक आवरणमा खुलेआम अपराध भइरहेको छ तर उनीहरुलाई कारबाहि गर्ने निकाय निकम्मा भएर बसेको छ । रवि आफैँले देखे र भोगे, वैदेशिक रोजगारीमा जाँदा कतिपय म्यानपावर व्यवसायीमार्फत युवाहरु ठगिएका छन्, लुटिएका छन् र विदेशमै प्रताडित भएका छन्, कैयौँ युवायुवति हिंसामा परेका छन् ।

कालोधन थुपारेर विदेश शयर गर्नेलाई कारबाहि गर्ने प्रयास कसैले गरेको छैन । घुस खुवाएर हुने प्रहरीको सरुवा बढुवा, प्रहरीमा हुने खरिद र कमिसनको चक्कर लगायतका विषय पनि उनले नजिकबाट नियालेकै छन् ।

ती यावत् समस्याको ठोस र प्रभावकारी समाधान गर्न पनि रविले गृहमन्त्रालय रोजेका हुन सक्छन् । रविको काम गर्ने आफ्नै शैली देखिन्छ, जनतासँग सिधा जोडिएर उनीहरुका समस्या समाधानमा पहल गर्ने । नेपालमा थुप्रै मन्त्रालय छन् जो प्रत्यक्ष जनतासँग जोडिदैनन् ।

सिंहदरबारभित्र कुर्सीमा बसेर विधि, नीति र नियमहरुमा सुधार ल्याउने मन्त्रालय पनि छन् जो उनको रुचीमा परेन । जनताको प्रत्यक्ष चासोसँग जोडिएको विषयमा काम गर्ने हुटहुटी बोकेका रविलाई गृहमन्त्रालय नै उपयुक्त लाग्नु स्वभाविकै हो ।

उनले मन्त्रालय रोज्नु र काम गरेर देखाउनु चाँहि फरक कुरा हो । उनले समस्या समाधान गर्ने हुटहुटी साँच्चिकै बोकेका हुन् भने पक्कै उनी सफल हुनेछन् तर व्यक्तिगत कुरा सल्टाउन र तात्कालीन लाभ देखेर उनले सो मन्त्रालय रोजेका भए असफलताको दिन पनि टाढा छैन ।

हुन त गृह मन्त्रालय सम्हालेपछि उनले केही सुधारका काम पनि सुरु गरिसकेका छन् । गृहमन्त्रीको रुपमा उनले व्यक्तिगत शैली पनि सुधार गरेका छन् । औपचारिक कार्यक्रमहरुमा फरक कुर्सीमा बसेर शान देखाउनेदेखि सडकमा साइरन बजाउँदै गलत लेनबाट बाटो काट्ने जस्ता अघिल्ला गृहमन्त्रीको हर्कत उनले उल्ट्याएका छन् ।

उनी आम सर्वसाधारण जस्तै बाटोमा ट्राफिक नियमको पालना गरेर हिँडेको देखिन्छ । सरकारको न्यूनतम साझा कार्यक्रममा उनले भन्दै आएको भ्रष्टाचारसम्बन्धी विभिन्न कालखण्डका काण्डहरु अनुसन्धान गर्ने र भ्रष्टाचार नियन्त्रणमा सरकार निर्मम बन्नुपर्ने जस्ता कुरा समेटिइसकेका छन् ।

यसले सरकारमा उनको दह्रो उपस्थिति हुने संकेत देखाइरहेको छ । यो क्रम कति समयसम्म जान्छ ? उनको सफलता र असफलतासँग उनी मात्र जोडिएका छैनन्, युवा पुस्ताको महत्वाकांक्षा र सपना, उनको पार्टीको भविष्य र उनको प्रधानमन्त्री हुने सम्मको सपना जोडिएको छ ।

स्थापना भएको ६ महिनामै सत्ताको स्वाद चाख्दै गरेको उनको पार्टीले अर्को आम निर्वाचनसम्म ग्रहण गर्ने आकार गृहमन्त्रीको रुपमा उनले गर्ने कार्यसम्पादनमा निर्भर छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?