संसदमा ओलीले देउवालाई “गुरु” भनेपछि..

साझाकथा संवाददाता

काठमाडाै, पुस २६

सहकर्मी र विपक्षीलाई कटाक्ष गर्न सिपालु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा शेरबहादुर देउवामाथी फेरि कटाक्ष गरेका छन् ।

संसद विघटनको विषय उठान गर्दै  काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच जुहारी चलेको हो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रतिनिधि सभाको विघटन गर्नसक्ने अभिव्यक्तिको दिएकोप्रति काँग्रेसको ध्यानाकर्षण भएको बताए भने ओलीले देउवालाई संसद विघटनको “गुरु” भन्दै कटाक्ष गरे ।

सोमबार ओलीले संसदमा गरेको सम्बोधनका क्रममा यसअघि २ पटक आफूले गरेको संसद विघटन उचित भएको दाबी गरेका थिए । “संविधानको संसदीय व्यवस्थाको विपरित फेरि पनि संसद विघटन गर्नसकिने कुरा उठाएका थिए । संविधानको पालना र रक्षाका लागि वर्तमान संविधानसहित वर्तमान प्रधानमन्त्री र हामी एक ठाउँमा उभिएका थियौं ।

आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकहरू तिनै संवैधानिक व्यवस्थालाई चुनौति दिएको परिप्रेक्ष्यमा संविधान र रक्षाका लागि खरो रुपमा उभिने चुनौति हाम्रो सामु छ ।

अहिले निर्वाचन सम्पन्न हुनासाथै प्रतिनिधि सभाको विघटन हुनु असामान्य र अस्वभाविक हुन्छ भन्ने जस्ता प्रत्युत्पादक छलफलमा प्रवेश गर्नुभन्दा पूर्ण कार्यकाल सरकार चलाउन हामी सबै मिलेर गर्न दिनुपर्छ भनेर संविधानको मर्म र भावनाअनुरुप हाम्रा व्यवहार हुनुपर्छ । संविधानको रक्षाको लागि पनि सरकारलाई हाम्रो समर्थन रहन्छ,” देउवाको भनाई थियो ।

देउवाले मन्तव्यको अन्त्यमा प्रधानमन्त्रीलाई नेपाली काँग्रेसले समेत विश्वासको मत दिने घोषणा गरे भने देउवाको घोषणामा ओलीले आशंका व्यक्त गरे । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले काँग्रेसको सो निर्णयमा कुनै खालको जालझेल हुन सक्ने शंका गरे ।

उनले भने, “यदि यो समर्थन भित्र सदासयताबाहेक अरु कुरा छैन भने, यदि यो समर्थन कुनै जाल होइन भने, या समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने म भन्न चाहन्छु–जाल हो भने म भन्न चाहन्छु–माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल । केही यस भित्र भोलीका निम्ति अरु खालको कुराहरु सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ ।

किनभने त्यस पानीबाट, त्यस खोल्सीबाट त्यो ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन । आफै अन्तिम पटक संसद विघटन गरेर प्रतिगमनमा पुर्याएर माग १९ पुर्याएको सम्झिएर संसद विघटन भन्ने वित्तिकै प्रतिगमन ठान्नु हुन्छ उहाँ । सधैं त्यस्तो हुँदैन । संसद संसदीय प्रणालीमा बेलायतमा पनि भंग हुन्छ । इन्डियामा पनि भंग हुन्छ । जापनमा पनि हुन्छ । इजरायलमा पनि हुन्छ । अन्यत्र पनि हुन्छ ।”

एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनभित्र जाल नभई सदासयता छ भने स्वागतयोग्य रहेको पनि बताए ।  यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि ओली र देउवाबीच जुहारी चल्दै आएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?