काठमाडाै, पुस २६
तराईका विभिन्न भागमा विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ। यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ।
जाडो छल्ने क्रममा भएको सामान्य हेलचेक्र्याइँले धेरैको ज्यान गएको छ। कोठा न्यानो बनाउन ब्रिकेट, कोइला, दाउरा, भुस बाल्दा वा हीटर चलाउँदा गन्ध र रङरहित कार्बनडाइअक्साइड, कार्बन मोनोअक्साइडलगायतका ग्याँस निस्कने कुरामा धेरैको ध्यान पुग्दैैन।
त्यसरी सुतेकाहरू थाहै नपाई मृत्युको मुखमा पुग्छन्। सास लिंदा शरीरभित्र जाने धुवाँले रगतमा अक्सिजन घटाउँछ। सामान्यतः मानिसको रगतमा अक्सिजनको मात्रा ९० प्रतिशत हुनुपर्छ।
निकास विनाको कोठामा धुवाँ हुँदा अक्सिजनको मात्रा घट्छ। त्यस्तो कोठामा सुतेको मानिस रगतमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशत भएपछि लट्ठिन थाल्छ र ७० प्रतिशतमा बेहोश हुन्छ।
अक्सिजन त्यसभन्दा पनि घट्दै गएपछि मुटुको धड्कन धेरै धड्किएर बन्द हुने मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन्।
उनका अनुसार, चिसो मौसममा टम्म न्यानो लुगा लगाउने, खुल्ला स्थानमा धेरै नबस्ने, तातोपानी र झोलिलो खानेकुराहरू धेरै खानुपर्छ। गाउँघरमा पाइने गुन्द्रुक, लसुन, अदुवा, भटमास जाडोमा बढी गुणकारी हुने उनी बताउँछन् ।
केही समय यता शीतलहरबाट जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश भागमा यतिबेला शीतलहरले सताएको छ । जसले गर्दा अनेकौं स्वास्थ्य समस्या देखिने गरेका छन्।
शीतलहरबाट जागिने अन्य उपायहरू
यो बेला चिसोबाट बच्न विशेष ख्याल गर्नुपर्छ ।
शरीरको पूरै भाग छोपिने गरी लुगा लगाउने ।
आमाको दूध खाने बालबालिकालाई नियमित स्तनपान गराउने ।
तातो तथा झोलिलो खानेकुरा प्रशस्त मात्रामा खाने ।
कोठा न्यायो बनाउने तर हावा ओहोरदोहोर भए नभएको ख्याल गर्ने ।
सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला बाल्दा झ्याल ढोका खोल्ने ।
आगो, कोइला वा हिटर निभाएर मात्र सुत्ने ।
सकेसम्म बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कने ।
आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै नछोड्ने ।
स्वास्थ्यसम्बन्धी कुनै समस्या जस्तैः ज्वरो, झाडापखला, दम, खोकी लागेमा, सास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
समाचार एजेन्सीकाे सहयाेगमा