राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती काठमाडौंमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । काठमाडौंसहित देशभर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मुलद्वारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् । राप्रपा लगायतका पार्टीहरुका नेता कार्यकर्ताको विशाल उपस्थितिबीच सिंहदरबार अगाडी रहेको शाहको शालिकमा माल्यार्पण गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहित पार्टीका अन्य नेताहरुले पनि शालिकमा माल्यार्पण गरेका थिए । पृथ्वी जयन्तीकै अवसर पारेर राजधानीको भृकुटीमण्डपमा राप्रपाले चियापान कार्यक्रम राखेको छ ।
विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न सफल भएका थिए ।
पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ । शाहवंशीय राजा पृथ्वीनारायण शाहले स–साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गरेका थिए । आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई आज पुस २७ गते उनको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । २०६३ अघि यो दिवस मनाइने गरिएकोमा गणतन्त्र घोषणापछि पुस २७ मा दिँदै आएको सार्वजनिक विदा कटौति गरिएको थियो ।
नेपालमा २००७ सालको क्रान्ति पश्चात नेपालमा आएको प्रजातन्त्र पश्चात योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनुपर्छ भनेर प्रक्रिया शुरु गरेका थिए थियो । पृथ्वीनारायण शाहले स–साना क्षेत्र (भीरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायण शाहले शुरू गरेको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो ।