साझाकथा संवाददाता
काठमाडाै, पुस २७
पृथ्वी जयन्तीको अवसर पारेर राप्रपाले राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
चियापानमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने, माओबादीका नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत सहभागी भएका थिए ।
चियापान कार्यक्रममा पुगेका नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिने निर्णय गरेर रामो गरेको टिप्पणी गरे ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकतावद्ध गरेको स्मरण समेत गराए । उनले भने, ‘पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाई गर्नु भयो ।
जुन नेतृत्व गर्नु भयो । र, देश एकीकृत भयो । एकीकरण भयो । एउटा देश भयो । नेपाल भयो । हामी नेपाली भयौं । त्यसकारण पृथ्वीनारायण शाहको जन्मदिको खुशीयालीमा सरकारले विदा दियो । पहिलो पटक होला यो सन्दर्भमा ।’
यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारे । चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
वरिष्ठ नेता पौडेलले ५ वर्ष भित्र मुलुकमा धेरै ठूलो विकासमा फड्को मार्नेगरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न आफनो पार्टीले विश्वासको मत दिएको बताए ।
उनले नेपाल राष्ट्रलाई एकीकरण गर्नु भएका पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुशी र गौरवको विषय भएको समेत बताए ।
पृथ्वीनारायण शाहको दिव्य उपदेशको स्मरण गर्दै पौडेलले घुस लिने र दिने अपराध कर्मको अन्त्य गरी भ्रष्टाचारमुक्त देश बनाउन दलहरुले मिलेर काम गर्नुपर्ने बताए ।
मुलुकलाई दलदलमा फसाउन नहुने दोहोर्याएका पौडेलले राष्ट्रिय एकता कायम होस् भनेरै प्रचण्डलाई विश्वासको मत दिएको जिकिर गरे ।
यस्तै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिएर सरकारले नेपालको भौगोलिक एकीकरणका नायक पृथ्वीनारायण शाहको ऐतिहासिक कदमलाई स्थापित गरेको बताए ।
नेपालको भौगोलिक एकीकरणको नायक पृथ्वीनारायण शाहबारे कुनै पनि विवाद गर्नुपर्ने आवश्यक्ता समेत नरहेको उनको भनाई थियो ।
सरकारले बुधबार पृथ्वी जयन्तिको अवसर पारेर सार्वजनिक विदा समेत दिएको थियो । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तिमा सरकारले सार्वजनिक विदा दिनुपर्ने शर्त समेत राखेको थियो ।
चियापान कार्यक्रमको समापनसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संचारकर्मीहरुसँग कुराकानी गर्दै पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताए ।
पृथ्वी जयन्तीको दिनमा सरकारले सार्वजनिक बिदा दिएर मात्रै नपुग्ने भन्दै अध्यक्ष लिङदेनले यो दिनलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताए ।
यद्यपी पृथ्वी जयन्तीको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले सुकार्यको प्रारम्भ गरेको उनको भनाई थियो । राप्रपाको मागलाई सरकारले स्वीकार गरेको भन्दै आफूहरुको लागि यो दिन विजयोत्सवको दिन भएको लिङदेनको भनाई थियो ।