पाँचथर, पुस २८
स्वास्थ्य जोखिमलाई ख्याल नगर्दा पाँचथरमा एक जना सुत्केरीले ज्यान गुमाउन परेकाे छ ।
उमेर, तौल, रक्तचाप, शारीरिक अवस्थालगायतका कारण आउन सक्ने जोखिमलाई ख्याल नगरी स्थानीय स्वास्थ्य चौकीमै प्रसूति उपचार गराउँदा पाँचथरमा एक ‘किशोरी–सुत्केरी’को ज्यान गएको हाे ।
प्रसूतिपश्चात् आउन सक्ने सम्भावित जोखिमलाई ख्याल नगर्दा पाँचथरको कुम्मायक गाउँपालिका–२ की १९ वर्षीया सुत्केरी मनिषा आचार्यको ज्यान गएको हाे । सुत्केरी बेथाले च्यापेपछि परिवारले आचार्यलाई माङ्जाबुङ स्वास्थ्य चौकीमा प्रसूतिका लागि भर्ना गरेका थिए ।
स्वास्थ्यकर्मीका अनुसार उनले मध्याह्न ११ः५५ बजे साधारण अवस्थामै २.७ किलोग्राम तौल भएको शिशु जन्माएकी थिइन् ।
प्रसूतिपश्चात् केही समय आचार्यको स्वास्थ्यावस्था सामान्य रहे पनि केही क्षणपछि रक्तस्राव सुरु भएको थियो । रक्तस्राव रोक्ने प्रयास गरेका स्वास्थ्यकर्मीले उनको उमेर, तौल,रक्तचाप र शारीरिक अवस्थालगायत कारण आउन सक्ने जोखिमलाई ध्यान नदिंदा सोही दिन उनको ज्यान गएको हो ।
मृतकका दाजु मदन आचार्य शव परीक्षण रिपोर्टमा आन्तरिक रक्तस्राव र कम रक्तचापका कारण बिरामीको निधन भएको देखिएकाले स्वास्थ्यकर्मीको लापरबाहीका कारण आफ्नी बहिनीको ज्यान गएको बताउछन् ।
स्वास्थ्यकर्मीले बिरामीको अवस्थालाई ख्याल गरेर समयमै बाहिर लैजान भनेका भए समयमै जिल्ला अस्पताल पुराउ नसक्ने उनको भनाइ छ ।
“स्वास्थ्यकर्मीले आन्तरिक रक्तस्राव, रक्तचाप र बिरामीको अवस्थाबारे ख्याल गर्नुपर्ने थियो”, आचार्यले भने , “हामीलाई ४ः३० बजे मात्रै बिरामीको अवस्था कमजोर भएकाले बाहिर लैजान भने ।”
प्रसूतिपछि कम रक्तचापका कारण बिरामी उठ्न नसक्ने अवस्थामा पुग्दासमेत स्वास्थ्यकर्मीले सुविधा सम्पन्न अस्पताल पठाउनेतर्फ ध्यान नदिई स्वास्थ्यचौकीमै राखेको परिवारको गुनासो छ ।