म्याग्दी महोत्सव सुरु, जिल्लाका सम्भावना उजागर गर्ने

साझा कथा । म्याग्दी महोत्सव आजबाट सुरु भएको छ । उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गर्ने म्याग्दी महोत्सव सदरमुकाम बेनीको खुल्लामञ्चमा माघ ८ गतेसम्म चल्नेछ । महोत्सवलाई लक्षित गरेर बजारवासीले तुल ब्यानर, धोजापताका, स्वागतद्वारले बजारलाई झकिझकाउ र चिटिक्क पारेका छन् । बजारलाई सरसफाइ गरेर पाहुनाको स्वागत गरेका छन् ।

कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्ने उद्देश्यले संघले प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला २०७९ सञ्चालन गर्न लागेको संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । माघे सङ्क्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवर्धन र सम्भावनाहरुको उजागर गर्न महोत्सवको आयोजना गरिएको अध्यक्ष कटुवालको भनाई छ ।

महोत्सवको उद्घाटन पूर्व विभिन्न जातजातिको भेषभूषा, कलासंस्कृति र झाँकीसहित बजारमा र्याली आयोजना गरिएको थियो ।
महोत्सवले जिल्लामा रहेको सम्भावनाहरुको उजागर गर्ने र यहाँका उत्पादनहरुको बजारीकरण र प्रचार प्रसारमा समेत सघाउ पुग्ने संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए । उनका अनुसार महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरुमा हेलिकप्टरमार्फत दृष्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा जलयात्राको लागि र्याफ्टिङसमेत सञ्चालन गरिने भएको छ ।

महोत्सवमा खुला लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी आइडलको रुपमा लोकनृत्य प्रतियोगिता, जिल्लास्तरीय अन्तरपालिका महिला र पुरुष भलिबल लगायतका प्रतियोगिता समेत सञ्चालन हुनेभएका छन् । महोत्सवमा म्याग्दीका उत्पादन र पहिचान झल्कने सामग्रीहरुको स्टलहरु राखिनेछ ।

महोत्सवमा बेनीको पुरानो हनुमान नाच देखाउने तयारी गरिएको छ । राष्ट्रिय र स्थानीय कलाकारहरुबाट साङकेतिक प्रस्तुति रहने महोत्सवलाई सङ्गीतमय बनाइने भएको छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा एक करोड २५ लाख रुपियाँ आम्दानी र एक करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा दुईसय ५८ वटा व्यवसायिक स्टल छन् । स्थानीय उत्पादनलाई विक्री र प्रचारप्रसार गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?