सन्दिप लामिछानेको रिहाई – ४ कारण र पालन गर्नुपर्ने ५ शर्त

साझाकथा संवाददाता

काठमाडाैं, पुस २९

नाबालिका बलात्कार मुद्दामा जेल सजाय भोगिरहेका क्रिकेटर सन्दिप लामिछाने आज रिहा हुँदैछन् । लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो ।

केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई ४ कारणसहित थुनामा राखिराख्न उपयुक्त नभएको निश्कर्ष निकालेको थियो । तर उनलाई सर्तसहित रिहा गर्न आदेश भएको छ ।

रिहा हुनाका ४ कारण:

  • लामिछानेको मानसिक अवस्था राम्रो नभएको
  • पीडितको बकपत्र भइसकेकाले होस्टाइल गराउनका लागि प्रभावमा पार्न सक्ने संभावना नरहेको
  • लामिछानेबाट सार्वजनिक शान्तिमा खतरा नभएको भाग्न सक्ने अवस्था नभएको
  • पीडितलाई दबाब र प्रलोभनमा पार्न सक्ने अवस्था नभएको

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावदेन भएको थियो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका थिए ।

लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

रिहा भएपनि लामिछानेले यी ५ वटा शर्त पालना गर्नुपर्नेछ । अन्यथा उनलाई फेरि पक्राउ गरिनेछ ।

१. यस मुद्दाको फैसला नभएसम्मका लागि सन्दीपलाई नेपाल बाहिर जानबाट रोक लगाइएको छ। उनको नाममा जारी भएको राहदानी रोक्का गर्न भनिएको छ। यसको कार्यान्वयनका लागि गृह र परराष्ट्र मन्त्रालयलाई लेखेर पठाउन भनिएको छ।

२. जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यको सम्बन्धमा वा विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी वा धारणा व्यक्त गर्न सन्दीपलाई रोक लगाइएको छ।

३. आफू वा आफू सम्बद्ध संस्था वा व्यक्तिहरूबाट जाहेरीकर्ता, पीडित वा उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न पाउँदैनन्।

जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरूत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्नूर नगराउनू भनी सन्दीपलाई निषेधात्मक आदेश दिइएको छ।

४. कुनै काम विशेषका कारण सन्दीपले काठमाडौं उपत्यका छोड्नु परे, छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोबारे लिखित जानकारी दिनुपर्ने छ। सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्कने मिति तथा उपत्यकाबाहिर रहने स्थान समेत खुलाउनु पर्नेछ।

५. माथिका खण्डहरूमा उल्लिखित आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ।

त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्ने छ। जिल्ला अदालतले माग गरेका बखत त्यस्ता सामग्री वा विवरण उपलब्ध गराउनु पर्नेछ। यसको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिन भनिएको छ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?