शुशीला रेग्मी
रामपुर, पुस २९
सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौँ, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् ।
सार्वजनिक सवारी साधनमा पुरुष चालकको भीडमा एक्लो महिला चालकका रुपमा भिड्नुभएको छ पाल्पाको रामपुरकी २७ वर्षीय मैना श्रेष्ठ । उनले रामपुर नगरपालिका क्षेत्रमा भ्यान चालकको काम गर्दै आइन् ।
पुरुष चालक सरह नै हिम्मत र आँट गरेर समुदायमा उदाहरणिय महिला चालकका रुपमा कहलिनुभएको छ । रामपुर क्षेत्रमा पालोअनुसार तथा रिजर्भमा गाडी चलाउछन् ।
“महिला भए पनि अवसर पायो भने पुरुष सरह नै काम गर्न सकिन्छ”, उनले भने , “गाडी चालक भएर यात्रु ओसार्न पाउँदा आनन्द लागिरहेको छ, मनमा इच्छा शक्ति भयो भने महिला भनेर पछाडि हट्नु पर्दैन ।”
नमस्ते रामपुर यातायात प्रालिमा भ्यान दर्ता गरेर आफ्नो पालोमा उनी यात्रु ओसार्ने गर्नुहुन्छ । दुई महिनाअघि रु १२ लाखमा यात्रुवाहक भ्यान किनेर व्यावसायिक रुपमा यात्रु ओसारपसारमा अहिले उनको दैनिक बित्ने गरेको छ ।
रामपुरको बेझाड बजार, विजयपुर, किसानवारी, प्याक्लुक, आँपचौर, रामटार, गण्डकीढिक, भलायटार, स्याउली बजार क्षेत्रमा उन यात्रुलाई लैजाने ल्याउने गर्नुहुन्छ ।
उनी बिहान ६ देखि साँझ ७ बजेसम्म चालकका रुपमा निस्कनुहुन्छ । एकै पटकमा सवारी चालकको अनुमति पत्र प्राप्त गरेपछि व्यावसायिक रुपमा गाडी चलाउन उनको हिम्मत बढ्यो ।
“लाइसेन्स निस्केपछि गाडी चलाउँछु भन्ने योजना बनाए, परिवारको साथ सहयोग हौसला पाएपछि व्यावसायिक रुपमा यसमा लागेको छु”, उनले भने ।
मासिक रुपमा उनले सरदरमा रु १५ हजार बराबरको कमाई गर्नुहुन्छ । छ वर्षको छोरालाई बिहानै घरमा छाडेर उहाँ नियमित ड्युटीमा निस्कन्छन् । बेझाड चोकमा भ्यान लिएर यात्रुको प्रतीक्षामा उनी भेटिनुहुन्छ ।
उनले भने , “सानो बच्चा छ, घरमा सासूससुराको साथमा छाडेर बिहानै गाडी लिएर नम्बर लगाउन जान्छु, बाँच्नका लागि केही न केही गर्नुप¥यो, आफ्नै घरबाट निस्केर काम गर्न पाइएको छ, दुःखसुख नगरीकन जीवन चल्दैन ।”
महिला चालक भनेपछि महिला यात्रुले नै उपेक्षा गर्ने गरेको उनले गुनासो पोखे । गाडीमा चढ्ने क्रममा महिला चालक रहेछ भनेर कतिपय यात्रु चढेपछि ओर्लने, कतिपय नचढीकन अर्को गाडी चढ्ने गरेको श्रेष्ठले अनुभव सुनाए ।
रामपुर नगरपालिकाको सहयोगमा एक महिना सवारी चालकको तालिम लिनुभएकी श्रेष्ठले सीप विकासका लागि स्थानीय ड्राइभिङ सेन्टरमा तीन महिनाको तालिम लिए ।
महिला भनेर उपेक्षा गर्ने समाजमा ठूला सार्वजनिक सवारी चालकका रुपमा काम गर्ने उनको इच्छा छ । एउटा निश्चित रुट भइदिएमा सवारी साधन चलाउन सहज हुने उनी बताउछन् ।
घरपरिवार र आफ्नो गाउँ छिमेकका साथीले यस व्यवसायमा राम्रो हौसला दिएको श्रेष्ठले बताए । सुरुको समय भएकाले केही पुरुष चालकले राम्रो व्यावहार गर्ने गरे पनि केहीले भने महिला चालक भनेर नियम मिच्न खोज्ने गरेको उनी बताए ।
समाजमा महिलाले नगरेको पुरुषले मात्र गर्ने नयाँ काम गर्ने अठोटका साथ सवारी चालकको काम थालनी गरेको उनको भनाइ छ । श्रीमान् वैदेशिक रोजगारमा र घरमा सानो बच्चा हुँदा केही कठिनाइ भने झेल्नु परेको उनले सुनाउछन् ।
सिलाइकटाइको काममा समेत राम्रो अनुभव बटुल्नुभएकी श्रेष्ठले यस क्षेत्रमा लागेपछि समाजमा सबैका सामु चिनिने अवसर पाएको बताए । दैनिक व्यवसायमा खटिनुपर्ने भए पनि यात्रुको सेवा गर्न पाउँदा आनन्द लाग्ने गरेको उनले बताए ।
महिला भएर पनि समाजका लागि पुरुषसरह नै हिम्मत गरेर समुदायमा उदाहरणीय महिलाका रुपमा पहिचान बनाएको देख्दा खुसी लागेको स्थानीय सरिता रेग्मीले बताए ।
उनले जस्तै हिम्मत गरेर काम गरियो भने महिला भन्दैमा सधैँ पछाडि पर्नु नपर्ने उनको भनाइ छ । रामपुर क्षेत्रमा हाल २८ भ्यान सञ्चालनमा छन् । नगरपालिकाभित्र पालैपालो विभिन्न स्थानमा भ्यान चालकले नम्बरअनुसार यात्रु ओसारपसार गर्दछन् ।
राससबाट