जुत्ता सिलाउने व्यवसायबाट मनग्य आम्दानी

काठमाडौ, पुस २९

घर छोडेर सडकमा पुग्नुभएका ललितपुरको भैंसीपाटी निवासी ४९ वर्षीय राजेन्द्र रोका जुत्ता सिलाउने पेसामै ३५ वर्ष बिताएका छन्। कक्षा ४ सम्म परिवारसँग बसी पढ्दै आएका उनी साथीहरूको सङ्गतमा परेर सडकलाई नै आफ्नो बासस्थान बनाएको बताउँछन् ।

सुरुमा ११ वर्षको उमेरमा दरबारमार्गस्थित जुत्ता सिलाउने र पालिस लागउने काम गरियो, केही समयपछि साथीहरूको लहलहैमा ठमेलको उत्से होटेल बाहिर दैनिक गुजारा चलाउन बाह्य पर्यटकसँग पैसा माग्ने क्रममा तीन वर्ष बिताइएको राजेन्द बताउँछन् ।

सोही बखत उनको बाल्यकालको दिनचर्या देखेर एक स्वीस नागरिकले अध्ययनका लागि होस्टेलमा राखी ललितपुर माध्यमिक विद्यालयमा भर्ना गरिदिएका थिए । करिब दुईवर्ष सम्पूर्ण खर्च बेहोरी पढाइका लागि पहल गरे पनि राजेन्द्रले पढाइलाई निरन्तरता दिन सकेनन्  ।

सोह्र वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएका उनी विवाहपश्चात् पुनः सोही पेसामा सम्लग्न भए । पर्यटकको जमघट हुने वसन्तपुर क्षेत्रमा सोही काममा सम्लग्न हुदैँ आएका राजेन्द्रले बाह्य पर्यटकका लागि पथप्रर्दशकको काम पनि गरे ।

पन्ध्र वर्षसम्म त्यही काम गर्दै आएका थिए । उनी विगत आठ वर्षदेखि न्यूरोडस्थित भूगोलपार्कमा बसेर त्यसैलाई निरन्तरता दिँदै आएका छन्  ।

दुई सन्तानका बुबा राजेन्द्रका जेठा छोराले आइटी र कान्छा छोराले व्यवस्थापनबाट स्नातक तहसम्मको अध्ययन पूरा गरिसकेका छन् । उनकी श्रीमती राधिका ललितपुर उपमहनारपालिका– १८ को जनप्रतिनिधि छन् । राजेन्द्र भन्छन् । “मेहनतका साथ काम गरेको छु । मेरो पेसाप्रति परिवारको साथ छ ।

आफ्ना लगि आफै केही गर्छु भन्ने अठोट सबैले गर्नुपर्छ ।” हप्तामा एक दुई दिन फुर्सद लिएर पनि मासिक रु ३५ हजार कमाइ गरेको उनी बताउछन् ।  श्रीमती र छोराले कमाइ गर्न थालेपछि आफूलाई आराम गर्न भने पनि आफ्नो पेसामा नसा बसेको राजेन्द्रकाे भनाइ छ ।

राजेन्द्रसँगै जुत्ता सिलाउँदै आएका मीनबहादुर रम्तेल पनि ललितपुरको गोदावरी निवासी हुन् । भूगोलपार्कको पिपलबोटमै उहाँले सोही पेसामा ४० वर्ष बिताए । उनान्साठी वर्षीय मीनबहादुर दैनिक बिहान खाना खाएर ८ बजेतिर कामका लागि घरबाट निस्कन्छन् ।

आफ्नो यो पेसाबाट के खाउ–के लाउ भनी कहिलै चिन्तित हुनु नपरेको र व्यवसाय राम्रोसँग चलेको उहाँ बताउनुहुन्छ । दुई छोरा र एक छोरीका बुवा मीनबहादुर आफ्ना छोराछोरीको पढाइखर्च, बिहेखर्चसम्म यही पेसाबाट आएको आम्दानीले चलाएको जानकारी दिए ।

उनी भन्छन्,“काम सानो र ठूलो हुँदैन । जुत्ता सिलाउने पेसा भनेर लाज मान्न आवश्यक छैन । अर्काको चोरेर, मागेर, छलेर, झुकेर खानुभन्दा भगवान्ले दिएका हातखुट्टाले काम गरेर खानुनै बेस । भारतले नेपालमा देखेको अवसर नेपालीले भने देख्दैनन् । धेरै अवसर छन् तर नेपाली भने सानोतिनो काम भनेपछि गर्न हिचकिचाउँछन् ।”

स्वर्गजस्तो जन्मभूमि र परिवार छोडेर अन्य मुलुकमा आफ्नो पसिना बगाउन बाध्य नेपालीको अवस्था र गरिब जनतालाई भनेर छुट्याइएका राहत पहुँच हुनेका लागि मात्र रहेकोप्रति गुनासो पोख्दै मीनबहादुर राज्यले बनाएको नीति व्यवहारमा नल्याएकामा गुनासो गर्छन् ।

लामो समयदेखि भूगोलपार्कको छेउमा काम गर्दै आइएकाले धेरैजसो चिनेजानेका मानिस नै आउने गरेको, दिनमा १०/१२ जनाको कामले आफ्नो दिन बित्ने गरेको र त्यतिमै आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।

विना सिप र लगानीमा मासिक प्राय रु ३० हजारभन्दा बढी आम्दानी हुनुलाई राम्रै आम्दानी मान्नुपर्नेमा मीनबहादुर जोड दिन्छन्।

राजेन्द्र र मीनबहादुरजस्तै आफ्नो जीविकोपार्जनका लागि जुत्ता सिलाउँदै आउनुभएका धादिङ निवासी ४२ वर्षीय लीलाबहादुर कार्की पनि विगत २० वर्षदेखि यही पेसामा सम्लग्न छन् ।

दस वर्षदेखि सुन्धारामा बसेर जुत्ता सिलाउँदै आउनुभएका उनी गाउँघरमा खेती गरेर जीविकोपार्जन गर्न र बालबच्चाको पढाइलाई खर्च जुटाउन नसक्दा राजधानी छिरेको बताउँछन् ।

सुरुमा पसलमा सामान ओसारपसार गर्दै आएकामा पछि आफूले चिनेजानेको मान्छेले यही पेसाबाट मनग्य आम्दानी गरेको देखेर आफूले पनि यही पेसा रोजेको लीलाबहादुर बताउँछन् ।

दिनमा १२/१५ जनाको कामबाट दैनिक दुईदेखि तीन हजारसम्म आम्दानी गर्दै आएका उनी भन्छन्  ,“ठूलो लगानी जुटाउन नपर्ने, पढाइको प्रमाणपत्र नचाहिने, कसैको डरधम्कीमा चल्न नपर्ने, आम्दानी पनि राम्रै हुने गरेकाले यो पेसामा आफू र परिवार सन्तुष्ट छन्।

यही पेसाबाट आएको आम्दानीले आफूलगायत परिवार, छोराछोरीको पढाइखर्च सहज ढङ्गले चल्दै आएको छ ।”

आफूहरूले गरेको काम सानो भए पनि पेसा सबैको लागि अत्यावश्यक रहेको तर खुल्ला ठाउँमा व्यवसाय चलाउनाले घामपानी तथा धुवाँधुलो सहनुपर्ने बाध्यता रहेको उनको गुनसो छ ।

यी त केवल काठमाडौँ उपत्यकाका केही उदारहण मात्र हुन् । मुलुकभर जुत्ता सिलाउने पेसामा संलग्न भई मनग्य आम्दानी गर्ने मानिस धेरै छन् । पेसा सानो र ठूलो होइन, मानिसको हेर्ने नजर फरक हो ।

सबै पेसालाई सम्मान गर्न सकेमा मात्र समाजलाई परिवर्तन गर्न सकिनेमा सम्बद्ध व्यक्ति जोड दिन्छन् ।

राससबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?