यस बर्षको भूकम्प सुरक्षा दिवस कमलपोखरीमा

साझा कथा । यस बर्षको भूकम्प सुरक्षा दिवस काठमाडौंको कमलपोखीमा आयोजना हुने भएको छ । “भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार” भन्ने मूल नाराका साथ २५ औँ भूकम्प सुरक्षा दिवस माघ २ गते मनाइँदै छ । यस बर्ष भूकम्प सुरक्षा दिवसको आयोजक काठमाडौं महानगरपालिका रहेको छ । कोभिड – १९ लाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता र मापदण्ड पालना गर्दै कार्यक्रमको आयोजना हुने आयोजकको भनाई छ ।

२५ औँ भूकम्प सुरक्षा दिवसको तयारी तथा कार्यक्रमको बारेमा जानकारी दिन आज शहरी विकास तथा भवन निर्माण विभागमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले सुरक्षित पूर्वाधार निर्माण नै सुरक्षित जीवनको आधार हुने र यसले भूकम्पीय जोखिम न्यूनीकरण गर्ने बताए । भूकम्पीय सुरक्षा अभिवृद्धि गर्न व्यापक जनचेतनाको आवश्यकता रहेको भन्दै श्रेष्ठले करिब ५०० बर्षदेखि ठूला भूकम्प नगएको नेपालको पश्चिम क्षेत्रमा भवन संहिता कार्यान्वयन गर्ने, बनिसकेका भवनलाई प्रबलीकरण गर्ने र जनचेतना विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

पत्रकार सम्मेलनमा भुकम्पीय जोखिम कम गर्नका लागि विभाग, खानी तथा भूगर्भ विभाग, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विभिन्न सुरक्षा निकाय तथा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालद्धारा अहिलेसम्म भएका प्रगति विवरणबारे जानकारी गराइएको थियो । सरकारी अठोट र प्रयास लगायत नागरिक समाज, निजी क्षेत्र, समूदाय तथा गैरसरकारी संस्था सबैको सहयोग र सहकार्यबाट मात्रै भूकम्पीय सुरक्षा अभिवृद्धि गर्न सकिने श्रेष्ठले बताए ।

१९९० सालको भूकम्प गएको दिन पारेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ ।
भूकम्प सुरक्षा दिवस मूल समारोह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछाने लगायतको उपस्थितिमा कमलपोखरीमा आयोजना हुनेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?