चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले विदेशी फिल्म नेपालमा भित्र्याउँदा उनीहरुबाट किनेर ल्याएको मूल्य अनुसारको कर लागू गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई आग्रह गरेका छन् ।
शुक्रवार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै खड्काले विदेशी फिल्म किनेर ल्याएको मूल्यअनुसारको कर नउठाउने बोर्डको नीति न्यायोचित नभएको बताए । अध्यक्ष खड्काले विदेशी फिल्म ल्याउँदा त्यसको कर होलसेलमा लिने नीतिले देशलाई घाटा हुने दावी गर्दै चलचित्र व्यपार मात्रै नभएको भन्दै भाषा, संस्कृति, कला, भेषभुषा, राष्ट्रको विम्व भएको बताए ।
उनले कला, साहित्य देशको मेरुदण्ड भएकाले व्यापारको नाममा सहजै विदेशी चलचित्रहरुलाई निर्यात गरेर नेपाली चलचित्रहरुलाई अफ्ठयारो पार्ने स्थिति बन्द गर्नुपर्ने बताए । उनले नेपाली फिल्महरु हलमा चलेको पहलिो दिन नेपाली फिल्महरुलाई ६० प्रतिशतसम्म हलहरु उपलब्ध गराउनुपर्ने माग राखे ।
उनले भने, “चलचित्र व्यापार मात्रै होइन । चलचित्र चाउचाउ बेचेको जस्तो होइन, भाषा, संस्कृति, कला, भेषभुषा, राष्ट्रको विम्व हो । यसले देशको प्रतिनिधित्व गर्छ । चलचित्र व्यापार हो तर व्यापार मात्रै होइन । कला, साहित्य भनेको देशको मेरुदण्ड हो । यो भाँचियो भने देशको अवस्था अहिलेको जस्तै हुन्छ । व्यापारको नाममा सहजै विदेशी लचित्रहरुलाई निर्यात गरेर नेपाली चलचित्रहरुलाई अफ्ठयारो पार्ने स्थिति बन्द हुनुपर्छ । नेपाली चलचित्रहरुले ६०र४० शोहरु पाउनुपर्छ । हामीले शोहरु पाइरहेका छैनौँ । फिल्म लाग्ने दिन नेपाली फिल्महरुलाई ६० प्रतिशतसम्म हलहरु दिनुपर्छ ।” कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा।वैकुण्ठ अर्यालले नेपाली चलचित्रहरु किन चल्न सकेनन् भन्नेबारे गहन अध्ययन हुनुपर्ने बताए ।
उनले दर्शकका चाहना, रुचीलाई पूरा गर्न नेपाली फिल्महरु किन असक्षम भइरहेका छन् भन्ने बारेमा गम्भीर छलफल र समीक्षा गर्न चलचित्रकर्मीहरुलाई आग्रह गरे ।