लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

साझाकथा संवाददाता

चितवन, पुस ३०

चितवनकाे पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।

गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो ।

यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो । सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी तथा सदस्य नवराज ढकाललगायतको उपस्थिति रहेको थियो ।

यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीका अनुसार यस वर्ष विधिवत्रुपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउने क्रम सुरु भएको छ ।

उनले भने , “विगत तीन वर्ष कोभिडका कारण रोकिएको मेला पुनः सुरु गर्न लागिएको हो ।” मेला भर्न पाँच लाख भक्तजन आउने अनुमान समितिले गरेको छ । मेला भर्न आउनेका भक्तजनका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ । मेलाको तयारी तीव्र पारिएको उनले बताए ।

आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?