कविता (मात्रिक छ्न्द)
विदुर अधिकारी
जब जब महिनावारी हुन्छन्
तब तब नारी, अछुत कहिन्छन्
चेतन छर्दै , अघि बढ नारी
बुझ्नु छ के हो , महिनावारी।
(१)
प्राकृत हो यो, सृष्टि उभार्ने
मानव चोला, भव्य सपार्ने
सिर्जन भर्ने, अनुपम बारी
श्राप नठान्नू, महिनावारी।
(२)
नियमित बन्ने मासिक श्राव
बुझ्नु छ सबले, हुन्न खराब
यसमै हुन्छन, जीवन-सार
सृष्टि जगत् को, सुन्दर हार।
(३)
नछुने भइँदा छोए पाप
लाग्दछ भन्छन् के हो खास
खेर गएको हो बुझ अण्ड
हैन कुनै पनि, पाप र पुण्य।
(४)
छाउपडीको जाल रचेको
नारीलाई दमन गरेको
यस्तो कुप्रथा,तोड्नु छ नारी
मर्यादित होस् , महिनावारी।
(५)
रामपुर, चितवन
नेपाली साहित्यकार छन्दशाला
तपाईलाई केहि भन्नु छ ?