“आरुघाट पढाउँदाको समय स्मरण गर्दै प्रचण्ड”
साझाकथा संवाददाता
गाेरखा, पुस ३०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते नेपाली राजनीतिमा असाधारण परिघटना भएको बताएका छन् । सिंगो देश नै एकतावद्ध हुने र राष्ट्रिय सहमति हुने घटना विरलै हुने भन्दै उनले आफ्नो पक्षमा आएको असाधारण विश्वासको मतलाई ऐतिहासिक बताए ।
कम्युनिस्ट आन्दोलनका पूराना नेता, नेकपा (माओवादी केन्द्र) को जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै प्रधानमन्त्रीले यो असाधारण विश्वास आफ्नो लागि गौरव र चुनौती दुबै भएको बताए ।
प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले विश्वासको मत दिएका थिए । गोरखा आरुघाटको भीमोदय माध्यामिक विद्यालयमा शिक्षक भएर काम गर्दा प्रचण्डका घरबेटी पनि हुन् लेखक श्रेष्ठ ।
श्रेष्ठ अहिले फोक्सोको क्यान्सरसँग लड्दै पाटन अस्पतालमा उपचाररत छन् । आफ्नै पुस्तकको लोकार्पणमा समेत सहभागी हुन नसकेका श्रेष्ठको अडियो मन्तव्य कार्यक्रममा प्रसारण गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने समेत प्रतिबद्धता व्यक्त गरे । ‘अहिले ४६ वर्षपछि गोरखाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर देशको कार्यकारी प्रमुखको भूमिकामा छु ।
बूढीगण्डकी जलविद्युत् आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक निर्माण, जिल्लाको कृषि, पर्यटन र जडीबुटीको विकासमा मेरो ध्यान गएको छ,’ उनले भने।
पुस्तकमाथि चर्चा गर्दै उनले भुवन श्रेष्ठको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको र झण्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको स्मरण गरे ।
‘पुराना शिक्षक साथीहरू र विद्यार्थीहरू पनि देख्दा छुट्टै आत्मीयताको महसुस भएको छ । परिवारका सदस्यहरू पनि छन् । मलाई युवा जीवनको स्मृति भइरहेको छ,’’ उनले भने ।
‘‘मन्तव्यको अधिकाँश समय आरुघाटमा आफूले पढाउँदाको समय स्मरण गरेका प्रचण्डले त्यति बेलाको समय निक्कै उर्जाशील रहेको र निक्कै उत्साहका साथ मिलेर काम गरेको स्मरण गरे।
उनले उक्त विद्यालयमा आफू जानुपूर्व एसएलसीमा कोही पनि उत्र्तीण नभएका तर गइसकेपछि ८ जना विद्यार्थी उत्तीर्ण भएको समेत जानकारी गराए ।
कार्यक्रममा उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता चीनकाजी श्रेष्ठलगायतले सम्वोधन गरेका थिए ।
तस्बिरहरूः प्रकाश गाेपाली