नारदमणि बास्तोला
काठमाडाैं, माघ १
भारतको उच्च अदालतले केही समयअघि अयोध्यामा राम मन्दिर निर्माण गर्न बाटो खुल्ला गरिदिएपछि त्यहाँ मन्दिर बन्दै छ । त्यस मन्दिरमा राखिने राम सीताको मुर्ति भने नेपालबाट लगिएको शिलाबाट बनाइने छ ।
राम सीताको मुर्ति बनाउन चाहिने शिलाको लागि भारतले नेपाल सरकारलाई आग्रह गरेको थियो । यसै सन्दर्भमा हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल अयोध्यामा भगवान राम र सीताको मुर्ति बनाउन लैजान लागिएको कालिगण्डकीको शिलाको आइतबार पूजापाठ गरिएको छ ।
बेनी नगरपालिका -६ गलेश्वर क्षेत्रस्थित कालिगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधिअनुसार पूजापाठ गरिएको हो ।
मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् राम र सिताको मुख्य मूर्ति बनाउन प्रयोग गरिने भएको हो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज र जानकी मन्दिरका महन्तलगायतले शिलाको पूजापाठ गरे ।
उच्चस्तरीय टोलीले अवलोकन गरेपश्चात आइतबार पूजापाठ गरिएको हो । भूगर्भविद्, शिलाविद्, प्राविधिक र विज्ञ समेतको टोलीले दुई साताको समय लगाएर कालीगण्डकीमा दुई थान शिलाको पहिचान गरेका थिए ।
शिला उपहारस्वरुप दिइएको हो । अयोध्यामा शिला उपहारका समन्वयकर्ता एवम् नेपाली कांग्रेसका नेता निधिले गलेश्वर क्षेत्रस्थित कालिगण्डकीको शिला भारतको अयोध्यामा लग्दा नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।
भारतले रामको मुख्य मुर्ति बनाउन कालीगण्डकीकै शिला लैजाने इच्छा व्यक्त गरेपछि आफुले समन्वय गरेर नेपालको तर्फबाट अयोध्यामा कालीगण्डकीको शिला उपहार पठाउने प्रक्रिया अघि बढाइएको निधिले बताए ।
देवशिलाको नाम दिइएका दुई शिला १ हजार बर्षभन्दा बढी टिक्ने पुष्टि भएको छ ।
सन् २००५ मा बाबरी मस्जिद र राम मन्दिरका विषयमा भारतमा हिन्दु र मुस्लिमहरूबीच चर्को विवादसँगै हिँसा पनि चर्केको थियो । हिन्दुहरुले मस्जिद र मुस्लिमहरुले मन्दिरहरूमा आक्रमण गर्ने शिलशिला चलेको थियो ।
आक्रोशित भीडले बाबरी मस्जिद भत्काएपछि त्यसको १ दिनपछि अयोध्याको राम मन्दिरमा आक्रमण गरी क्षति पुर्याइएको थियो ।