विमान दुर्घटनापछि सरकारका ४ निर्णय, भोलि शोक विदा

साझाकथा संवाददाता

पाेखरा, माघ १

यति एअरलाइन्सको विमान दुर्घटनापछि सरकारले भोलि शोक विदा घोषणा गरेको छ ।

दुर्घटनापछि आज बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले भोलि विदा दिने निर्णय गरेको हो । दुर्घटनामा ४० जनाको निधन भइसकेको पुष्टि भएको छ भने बाँकी ३२ जनाबारे केही खुलाइएको छैन ।

यस्तै सरकारले दुर्घटनाको जाँचबुझ गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको नेतृत्वमा ५ सदस्यीय छानविन आयोग गठन गरेको छ । आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।

त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार, आफन्त, सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ ।

विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने पनि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

यस्तै सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?