माघे संक्रान्ति पर्व मनाइयो, टुँडिखेलमा थारु र मगरको फरक कार्यक्रम

साझाकथा संवाददाता

काठमाडाै, माघ १

विभिन्न कार्यक्रमको आयोजना गरी देशैभर माघे संक्रान्ति पर्व मनाइएको छ । थारु र मगर समुदायको मुख्य पर्व माघे संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइएको हो । काठमाडौंको टुँडिखेलमा थारु र मगर समुदायले फरक कार्यक्रमको आयोजना गरी पर्व मनाइरहेका छन् ।

मगर समुदायले आफ्ना पितृहरुलाई सम्मान गर्ने, प्रकृतिलाई पुज्ने र आफ्ना चेलीहरुलाई पुज्दै पारिवारिक रुपमा हर्षोल्लासका साथ यो पर्व मनाउने गरेका छन् । काठमाडौंमा नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा ३ दिने राष्ट्रिय सांस्कृतिक महोत्सवको आयोजना गरी माघे संक्रान्ति पर्व मनाइँदै छ ।

काठमाडौंको टुँडिखेलमा भएको महोत्सवमा देशभरबाट मगर समुदायको प्रतिनिधित्व रहेको छ । आ–आफ्नो भेषभुषा तथा गरगहनामा सजिएका व्यक्तिहरूले महोत्सवमा रौनकता थपेका छन् । साथै महोत्सवमा मगर समुदायको आ–आफ्नो मौलिक परिकारहरुको प्रदर्शनी तथा बिक्री वितरण भएको छ ।

यस्तै थारु समुदायले पनि आजको दिनलाई नयाँ वर्षको दिनको रुपमा मनाउने गरेका छन् । यस दिनमा ठूलाबडासँग आशिर्वाद लिने, मुखिया चुन्ने र नयाँ सोचका साथमा आगामी दिन बिताउने कामनासहित मिठोमसिनो खाँदै मनाउने गरिन्छ ।

पुस मसान्तको दिन सुँगुर/बँगुर जिता मार्ने, आगोको धुनि बाल्दै डफ र मादल सँगै धुमरी गाउँदै रातभर जाग्राम बस्ने चलन छ भने माघी पर्वको दिनमा बिहान सबेरै नजिकैको नदी तथा ताल तलैयामा स्नान गरिन्छ । स्नानपश्चात पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकांक्षा पूरा हुने विश्वास छ ।

यस दिनमा थारु समुदायले ढिक्री, अण्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, अन्डी जाँडको झोल, सखरखण्ड, खरिया, सुँगुर÷बँगुरको मासु, परेवाको मासु, माछा, घोंघी, गंगटो आदि परिकारहरु खाएर रमाइलो गरिन्छ । माघी पर्वको अवसरमा काठमाडौंको टुडिखेलमा थारु राष्ट्रिय माघी महोत्सवको आयोजना गरी मनाइएको छ ।

पुस मसान्तदेखि शुरु भएको सो महोत्सवमा थारुहरुको मौलिक पहिचान झल्कने भेषभुषासहित सो समुदाय उपस्थित भएको देख्न सकिन्छ भने मौलिक नाचगान पनि देख्न सकिन्छ । साथै महोत्सवमा मौलिक प्रकारका परिकारहरुको प्रदर्शनी तथा बिक्री वितरण पनि भइरहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?