साझा कथा । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विस्तार भएको छ । मंगलबार नियुक्त भएका १५ जना नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि ३ उपप्रधानसहित ८ जना मन्त्री नियुक्त भइसकेका थिए ।
मंगलबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।
यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा माओवादी नेत्री रेखा शर्मा नियुक्त भएकी छन् । यसैगरी, माओवादीबाटै अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सुदन किराँती पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा नियुक्त भएका छन् । यस्तै माओवादी सांसद सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् ।
यसैगरी, नेकपा (एमाले) बाट डा. विमला राई पौडेल परराष्ट्र र पदम गिरी, स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् । भगवती चौधरी र हरि उप्रेतीको भने जिम्मेवारी तोकिएको छैन । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सहरी विकास मन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र कानुन मन्त्रीमा ध्रुवबहादुर प्रधानले जिम्मेवारी पाएका छन् । राप्रपाबाटै दीपक सिंह ऊर्जा राज्यमन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी, बहुचर्चित सांसद तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेकी छन् ।