विमान दुर्घटनापछिका गोलचक्कर

साझा कथा विशेष

अप्ठ्यारो भौगोलिक अवस्थिति, छिनछिनमा बदलिने मौसम र कमजोर हवाई संरचनाका कारण नेपालमा विमान दुर्घटनाका घटनाहरु दोहोरिने गरेका छन् । पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनापछि फेरि नेपाली हवाई सेवा र नेपाली आकाशका सम्बन्धमा प्रश्नहरु जोडतोडले उठेका छन् । भारतीय संचारमाध्यमहरुले पोखराको दुर्घटनालाई चीनसँग जोडेर विमानस्थलको असुरक्षाको बारेमा व्याख्या गरेका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा समेत हट समाचार बनिरहेको छ पोखरा दुर्घटना ।

नेपालमा पहिलो पटक १९५५ मा बाराको सिमरामा कालिगा एअरको जहाज दुर्घटनाग्रस्त भएको थियो जहाँ २ जनाले ज्यान गुमाएका थिए । त्यसयता ६७ बर्षको अवधिमा १०४ वटा हवाई दुर्घटना भएका छन्, ९१६ जनाले ज्यान गुमाएका छन् । नेपालमा भएका भयानक दुर्घटनाहरुमध्ये मानवीय हताहतीका हिसाबले पोखरा दुर्घटना तेस्रो ठूलो घटना हो । त्यसअघि १९९२ सालमा थाई एअरलाइन्सको विमान दुर्घटना हुँदा १ सय १३ जनाले ज्यान गुमाएका थिए भने त्यहि साल भएको पाकिस्तान एअरलाइन्सको विमान दुर्घटनामा १५७ जनाले ज्यान गुमाएका थिए । यस्ता भयानक दुर्घटनाहरु दोहोरिरहनु नेपालका लागि दुर्भाग्य हो, अन्तर्राष्ट्रिय हवाई उड्डयनमा नेपालको विश्वसनियतामाथी प्रश्न उठिरहनु हो । अझ त्यो भन्दा दुर्भाग्य त विमान दुर्घटनापछि बन्ने छानविन आयोगको सक्षमता, त्यसले गर्ने अध्ययन, बुझाउने प्रतिवेदन र कार्यान्वयनमा हुने लापरबाही हो ।

सन् १९५५ मा पहिलो विमान दुर्घटना भएयता नेपालमा दर्जनौँ विमान दुर्घटनाहरु हामीले व्यहोर्यौँ । विमान दुर्घटना हुन्छ, चौविस घण्टा नवित्दै छानविन आयोग पनि बन्छ । अहिले पनि पोखरा विमान दुर्घटनाको ५ घण्टा नवित्दै छानविन आयोग गठन गरियो । आयोग बन्नु राम्रो कुरा हो तर त्यसले के काम गर्छ र त्यसका सुझावहरु कार्यान्वयन हुन्छ कि हुँदैन, अहिलेको मूख्य प्रश्न यही हो । विमान दुर्घटनापछि छानविन समिति वा आयोगहरु दर्जनौँ बनिसके । छानविन आयोगमा को मान्छे बसेको छ, त्यसमा धेरैले कम ध्यान दिन्छन् । समितिले कति प्रभावमा वा दवावमा परेर काम गर्छ, कति तटस्थ प्रतिवेदन बुझाउँछ अनि बुझाइएको प्रतिवेदन कहाँ पुग्छ, कसले पढ्छ, कसले कार्यान्वयन गर्छ, सिफारिस भए अनुसारको काम भएको वा नभएको अनुगमन कसले गर्छ केही भेउ पाउन सकिँदैन । नागरिकलाई सो बारेमा सूचना दिने त परको कुरा, स्वयं सरकारी अधिकारीहरु पनि यस विषयमा अनविज्ञ हुन्छन् ।

वास्तवमा विमान दुर्घटनापछि गोलचक्कर सुरु हुन्छ, कहिँ नपुगिने गोलचक्कर । दुर्घटनापछि छानविन हुने, दुर्घटनाको कारण पनि देखाइने, सुधार गर्नका लागि सुझाव पनि प्राप्त हुने तर सुझावहरु रद्दिको टोकरीमा थुप्रदै जाने । छानविन आयोगले दिएका रिपोर्ट नै कति बस्तुपरक र तथ्यमा आधारित हुन्छ, त्यहाँ पनि प्रश्न छ । यो श्रृंखलाले फेरि उही वा उस्तै कारणवस नयाँ दुर्घटना हुन्छ । यो गोलचक्कर हामीले ६० बर्षदेखि भोग्दै आइरहेका छौँ । त्यही गोलचक्करमा हामी मर्ने कि बाँच्ने भन्ने दोधारकै बीच यात्रा गरिरहेका छौँ ।

हवाई दुर्घटनापछि बन्ने छानविन समितिको क्षमता र तटस्थताका सम्बन्धमा शंका गरिन्छ । छानविन समितिमा को मान्छे पर्ने, वा कसलाई जिम्मा दिने भन्ने विषयदेखि समितिलाई अध्ययनको क्रममा प्रभावमा पार्ने विषय आम मानिसको जानकारीभन्दा परको कुरा हो । छानविन समितिमा विमान निर्माण कम्पनीदेखि वायु सेवा कम्पनीसम्मले चासो दिन्छन् । आफ्नो पक्षमा प्रतिवेदन बनाउनका लागि करोडौँको चलखेल पनि हुन्छ । समितिमा रहने व्यक्ति एक्सीडेन्ड इन्भेस्टिगेशन एक्स्पर्ट हो कि होइन, छानविनका लागि चाहिने दक्षता छ कि छैन, सो विषयमा तालिमप्राप्त हो कि होइन भन्ने भन्दा पनि प्रभावमा पार्न सकिने मान्छे हो कि हैन, सरोकारवालाहरुको पक्षपोषण गर्ने व्यक्ति हो कि होइन, यो विषयमा बढी ध्यान जाने हुनाले अनुसन्धान प्रभावित भइरहेको छ । हवाई सेवा सुधारका कुरा छानविन समितिमा रहने व्यक्तिहरुको दक्षता र निश्पक्षताले ठूलो अर्थ राख्छ ।

विमान दुर्घटनापछि विमान कति पुरानो या नयाँ छ भन्ने विषय पनि जोडतोडले उठिरहेको हुन्छ । तर एउटा विमान उड्नुअघि विमानका मेन्टेनेन्स इन्जिनियर, पाइलट, को–पाइलट, व्यवस्थापन समूह र अनुगमन गर्ने निकाय प्रत्यक्ष जोडिन्छन् । इन्जिन वा अरु कुनै पार्टसमा समस्या देखिएमा पाइलट नै सजग हुने गर्दछन् । त्यो सँगै प्रत्येक फ्लाइट अघि वा पछि चेकलिष्टका आधारमा जहाजको प्राविधिक विश्लेषण हुने भएकोले पुरानो जहाजका कारण दुर्घटना भएको हो भन्ने तर्क सत्य नजिक छैन । पाइलट, को–पाइलट, प्राविधिक वा वायु सेवा कम्पनीको व्यवस्थापन समूहलाई आफ्नो जीवन र व्यवसाय दाउमा राख्ने रहर पक्कै नहोला । तर यसमा विमानहरुको निरीक्षण र अनुगमन गर्ने निकाय कति सक्षम, निश्पक्ष तथा पारदर्शी छ, त्यसले विमानको आयुका सम्बन्धमा आउने प्रश्नलाई भने यथावतै राख्छ । यान्त्रिक कुरा भएको हुनाले कहिले काँहि उडानकै दौरान समस्या देखिन सक्छ तर कतिपय भवितव्यहरु यस्ता हुन्छन् जुन पाइलट वा को पाइलटको पनि बसमा हुँदैन । जसरी पोखरामा अवतरण हुन १० सेकेन्ड बाँकी रहेको विमान दुर्घटनाग्रस्त भयो ।

हवाई सेवा र सुरक्षाका सम्बन्धमा काम गर्ने निकायहरुमा कन्फ्क्टि अफ इन्टे«स्ट अर्थात स्वार्थ बाझिने गरी कर्मचारी, महानिर्देशक, सचिव वा मन्त्रीहरुको फेरबदल भइरहनु नेपालीका लागि अभिषाप त हो नै । हवाई सुरक्षा अभिवृद्धि गर्नु साटो आर्थिक लाभको खोजी गर्ने व्यक्तिहरुको रजगज हुने अर्को दुर्भाग्य हो ।

हामी सबैलाई थाहा छ, नेपालको हवाई आकाश अन्य देशको तुलनामा अत्यन्तै जोखिममा छ । पहाडै पहाडको बीचमा विमानस्थल हुनु र हवाई स्पेस सानो हुनु त हाम्रो नियति हो । तर विमानस्थलहरु मापदण्ड अनुसार नहुनु, धावनमार्ग गुणस्तरहीन र असुरक्षित हुनु, निरन्तर मर्मतसम्भारमा ध्यान नदिनु चाँही लापरबाहि हो, नेपाली जनताको जिउधनको सुरक्षामा राज्य गम्भीर नहुनु हो । त्यसमाथी एउटा घटना भइसकेपछि छानविन समितिमा सक्षम व्यक्ति नराख्नु र छानविनलाई नै प्रभाव पार्नु अनि सही प्रतिवेदन आए पनि त्यसको कार्यान्वयन नहुनु वेइमानी मात्र होइन, अपराध पनि हो ।
नेपाली हवाई सेवाको गुणस्तरीयतामा प्रश्न गर्दै युरोपेली यूनियनले नेपाललाई कालोसूचीमा राखेको छ । त्यो सूचीबाट हटाउनका लागि नेपालले पहल नगरेको पनि होइन । यही बीचमा सन् २०२२ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले केहि महिना अघि प्रकाशन गरेको हवाई सुरक्षा ‘अडिट’ मा नेपालले ७०.१० अंक प्राप्त गरेको थियो । यसै आधारमा युरोपेली यूनियनले नेपाललाई कालोसूचीबाट हटाउने चर्चा भइरहेकै अवस्थामा पोखरा दुर्घटना भएको छ । त्यसमाथी भर्खर उद्घाटन भएको अन्तर्राष्ट्रिय विमानस्थलकै सेरोफेरोमा दुर्घटना हुनुले सुध्रिँदै गएको हवाई सुरक्षाको अंकभारमा पक्कै असर गर्नेछ ।

यस्ता दुर्घटनाहरुले नेपाली आकाशमाथि सर्वसधारणको मात्रै होइन, अन्तर्राष्ट्रिय समुदायमा समेत नेपालको हवाई सेवाको सुरक्षामाथि विश्वास घटाइरहेको छ । पोखरा विमान दुर्घटनाले फेरि नेपाली आकाशलाई सुरक्षित गर्न सरकारको स्पष्ट योजना मागेको छ । तर इतिहास भन्छ, यस्तो चर्चा र परिचर्चा १ दुई हप्ता मात्रै चल्नेछ । हामी चाहन्छौँ, हवाई सुरक्षाको चर्चा बर्षैभरी भइरहनुपर्छ । छानविन आयोगमा बस्ने व्यक्तिहरुबारे जनताले बुझ्ने भाषामा बुझाइनुपर्छ, अध्ययनमा भएका प्रगति देखाइनुपर्छ, आएका सुझावहरु सार्वजनिक गरिनुपर्छ, दिइएका सुझाव कार्यान्वयन हुनुपर्छ । पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा परी मृत्युवरण गरेका सम्पूर्ण व्यक्तिहरुमा भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?