केही दिन सेवा अवरुद्ध हुँदा राहदानी विभागमा अहिले थामीनसक्नु भीड लागेको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएर काम सुरु हुन थालेपछि राहदानी लिनेको घुँइचो लाग्न थालेको छ ।
वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनेको भीड बढ्दै गएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन्। उनले भनिन्, “विभागमा राहदानीसम्बन्धी सबै काम सुरु भएको छ, सेवाग्राहीको पनि भीड बढेको छ, बीचमा केही दिन बिदा परेकाले पनि अहिले सेवाग्राहीको भीड बढेको हो ।”
सरकारले अत्यावश्यक सेवामा भीड कम गर्ने निर्णयपछि विभागले तीन÷चारवटा अनौपचारिक कार्ययोजना बनाएको जनाएको छ । कुन कार्ययोजना लागू गर्ने र कसरी गर्ने भन्ने छलफलमा विभाग रहेको बताइएको छ । देशभरका जिल्ला प्रशासन कार्यालय र १७ इलाका प्रशासन कार्यालयबाट सहज रुपमा राहदानी वितरण गरे विभागमा अहिलेजस्तो भीड नहुने निर्देशक सापकोटाको भनाइ छ ।
टोकन प्रणाली लागू गर्ने तयारी पनि गरिएको र कामको अवधि बढाएर बिहानदेखि राहदानी वितरण थाल्ने विकल्पबारे पनि विभागले योजना बनाइरहेको जनाइएको छ । सेवाग्राहीको भीडका कारण कर्मचारीलाई पनि सेवा प्रवाहमा समस्या हुँदै आएको बताइएको छ ।