साझा कथा । नयाँ सभामुख नेकपा एमालेका नेता देवराज घिमिरे बन्ने पक्का भएको छ । नयाँ बनेको गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको सभामुखमा घिमिरेले उमेदवारी दिने निश्चित भएसँगै उनी सभामुखमा निर्वाचित हुने पक्का भएको हो । सभामुख निर्वाचित हुन संसदको सामान्य बहुमत भए पुग्छ, जुन सत्ता गठबन्धनसँग छ । एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपा नेताबीच यसअघिको सहमति अनुसार घिमिरेलाई सभामुखको उमेदवार बनाइएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताएका छन् ।
उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् ।
माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेकाले सभामुखमा पहिलो कार्यकाल एमालेले लिनेगरी सहमति भएको छ । आलोपालो सहमति अनुसार साढे २ बर्षपछि माओवादीबाट सभामुख हुनेछन् ।
यसअघि सभामुखमा एमालेका नेताहरु पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा र विद्या भट्टराई लगायतको नाम चर्चामा थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखमा धेरैले आकांक्षा राखेपनि अरुभन्दा घिमिरे उपयुक्त हुने भन्दै उनैलाई अघि सारेका हुन् ।
बुधबार ४ः१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् । सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
एक मात्र उम्मेदवार भएको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ। मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ ।