नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई १३ करोड बराबरको इशा अवार्ड

नेपालका प्रतिष्ठित नेत्र चिकित्सक डा. सन्दुक रुइतले विश्व–प्रतिष्ठित इशा अवार्ड प्राप्त गरेका छन्। बहराइन सरकारले उनलाई इशा अवार्डबाट सम्मान गर्न लागेको हो । बहराइनका पूर्वराजा शेख इशा विन सलमान अल खालिफाको नाममा इशा अवार्ड स्थापना गरिएको थियो ।

चिकित्सक रुइत मोतियाबिन्दूको उपचारका लागि नयाँ विधि अपनाएर विश्वप्रसिद्ध छन्। अरब जगतमा पहिलोपटक आयोजना हुने यो पुरस्कार विजेता डा. रुइतले १० लाख अमेरिकी डलर अर्थात् १३ करोड ८ लाख रुपैयाँ पाउनेछन्। इशा अवार्ड पाउने डा. रुइत पाँचौं व्यक्ति हुन्।

यसअघि मलेसियाकी चिकित्सक जमिला महमुद (सन् २०१३), भारतका समाजसेवी तथा शिक्षाविद् अच्युत सामन्त (सन् २०१५), इजिप्टको बालबालिका क्यान्सर अस्पताल (सन् २०१७ं) र पाकिस्तानको इदी फाउन्डेसन (सन् २०१९) लाई यो अवार्ड प्रदान गरिएको अधिकारीहरुले जनाएका छन् । हरेक दुई वर्षमा प्रदान गरिँदै आएको इशा अवार्डले विपद् रोकथाम, शिक्षा–स्वास्थ्य र मानवीय सेवातर्फका व्यक्तिलाई समेट्छ।

मानवीय सेवा तर्फको इसा अवार्डबाट नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सम्मान गर्ने निर्णय गरेको बहराइनी राजाका विशेष प्रतिनिधि तथा बोर्ड अफ ट्रस्टीजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले बताएका छन्।

रुइतले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार समेत पाइसकेका छन्। उनले आफ्नै हातले डेढ लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन्। डा. रुइतले विकास गरेको सर्वसुलभ दरको आँखाको नयाँ लेन्स विश्वको कुना–कुनामा पुगेको छ, जसले गर्दा गरिबहरूले पनि संसार देख्न पाएका छन्।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?