नारायणगढ–मुग्लिन सडक फेरि एक महिना बन्द हुने

साझा कथा । विस्तार भएको सडकको काम पुरा नभइसकेको र पुलहरु निर्माण भइरहेका कारण नारायणगढ–मुग्लिन सडक फेरि १ महिना बाटो बन्द गरेर काम अगाडि बढाइने भएको छ । माघ ५ गतेबाट दिउँसो १२ बजेदेखि ४ बजेसम्म बाटो बन्द हुने छ ।
यसअघि पनि दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको जानकारी दिए । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ ।

निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । अबको ३० दिनमा काम सम्पन्न हुने आयोजनाले जनाएको छ ।

चिसेन्जी र तुईन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुईनको दायाँपट्टीको भित्तो ३० प्रतिशत मात्र काटिएको छ, भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टी दुबै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुईनको भित्तो ४५ मिटर अग्लो चट्टानी भीर रहेकाले काम गर्न कठिन भएको हो ।

आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलसँगै काम थालिएका नौ वटा पुल बनिसकेका छन् । यस अघिनै सो सडकका पाँच वटा पुल बनिसकेका थिए । पाँच पुल निर्माणाधीन रहेका छन् । विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान रहेको छ ।

यस्तै अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन् । ती हटाउनका लागि रु एक करोड हाराहारी राहात दिनुपर्ने हुन्छ । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौता अनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ ।

सो सडकको चौडाई ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?