साझा कथा । तीन तहको सरकार बनेपछि स्थानीय तहले पनि नीति, नियम बनाउन थाले । नगरपालिका वा गाउँपालिकाले बनाउने नीति नियम, गर्ने निर्णय र अन्य सूचनाहरुका सम्बन्धमा भने आम सर्वसाधारणको पहुँच कम नै हुने गरेको छ । पालिकाले बनाउने नीति, विकास निर्माण, उपभोक्ता समिति गठन लगायतका विषयमा जनता बेखबर हुन थालेपछि मोरङको कानेपोखरी गाउँपालिकाले सूचना एम्बुलेन्स प्रयोग गर्न थालेको छ । यो अभ्यास रुचाइएको छ ।
विकास निर्माण लगायत गाउँपालिकाका सबैखाले गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सूचना एम्बुलेन्सको प्रयोग गरिएको गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले जानकारी दिए । खासगरी उपभोक्ता समिति र निर्माण कम्पनीले गर्ने विकासका आयोजनाका बारेमा सूचना एम्बुलेन्सले आयोजना परिसर मै पुगेर सूचना दिनेछ । रेडियो कै शैलीमा दिइने सूचनामा लागत खर्च, काम गर्ने समिति र निर्माण कम्पनीको हो ? आवश्यक कच्चा पदार्थ, कच्चा पदार्थको परिमाण र प्रयोग, काम सुरु गर्ने र सम्पन्न गर्ने तिथिमिति, बजेटको स्रोतका विषयमा सर्वसाधारणलाई सूचना दिनेछ ।
पालिकाहरूमा धेरै भ्रष्टाचार भएको आरोप लागेपछि गाउँपालिकाले काम पारदर्शी बनाउन सूचना एम्बुलेन्सको प्रयोग गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए। “काम सम्पन्न गरिसक्दा पनि सोही क्षेत्रका उपभोक्ताहरू उपभोक्ता समिति गठन गरेको थाहा पाएनौँ भन्दै गाउँपालिका आउनुहुन्छ । काम सम्पन्न भएपछि भुक्तानी दिने बेलामा उजुरी पर्छ । हरेक काममा एक पछि अर्को झन्झट आएपछि नयाँ प्रयोग गरेका हौँ,” घिमिरेले भने ।
सामाजिक सञ्जालमा सबैको पहुँच छैन । त्यसैले गाउँपालिकाले आफ्नै खर्चमा विद्युतीय रिक्सा किनेर त्यसैमा सूचना प्रसारण गर्दै हिँड्न थालेको छ । विकास निर्माणका मात्र होइन, अन्य जनहितमा जारी सूचना पनि एम्बुलेन्सबाटै गाउँवासीले सुन्न पाउँछन् । अनुदानका सूचना, ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता नवीकरणको सूचनालगायतका जानकारी पालिकाभरि घुमी घुमी एम्बुलेन्सले सुनाएपछि यतिबेला कानेपोखरीवासी एम्बुलेन्स आउनेबित्तिकै कान ठाडा बनाएर सुन्न थालेका छन् ।