मोबाइलको लाइटका भरमा सुत्केरी गराइन्छ गलकोटमा

नेपाल लोडसेडिङ मुक्त भनिएपनि बेला बेला लाइन काटिने समस्याले जनता आजित छन् । राजधानी काठमाडौंमै पनि दैनिक जसो विजुली जाने गरेको छ । कर्णाली लगायतका ठाउँका कतिपय स्थानमा त विजुली नै पुगेको छैन । विजुली पुगेका धेरै ग्रामिण भूभागमा विद्युतको नियमित आपुर्ति नहुँदा विरामीहरु त मर्कामा पर्छन् नै । यस्तै भएको छ बाग्लुङ जिल्लाको गलकोट नगरपालिकामा ।
्दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन मल्म स्वास्थ्यचौकी पुगिन् । सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सबै तयारी पूरा गरे । प्रसूति व्यथाले च्यापेकी महिलालाई बर्थिङ सेन्टरमा राखियो । सम्भावित सबै जोखिम सामना गर्न स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्यकर्मी तयार थिए । जब बच्चा जन्मिने बेला भयो, झ्याप्प बिजुली गयो ।

बच्चा जन्मिनै लागेकाले स्वास्थ्यकर्मीले हतार–हतार खल्तिमा रहेको मोबाइल निकाले । मोबाइलको लाइट बाले । मोबाइलको लाइटकै भरमा तीनजनालाई सुत्केरी गराएको स्वास्थ्यचौकीकी अनमी माधुरी नेपाली बताउँछिन् । “धेरै पटक हामीले मोबाइलको लाइटकै भरमा सुत्केरी गराएका छौँ, बेलाबेलामा काटिने विद्युतको वैकल्पिक व्यवस्था नहुँदा समस्या भएको छ”, नेपाली भन्छिन्, “बर्थिङ सेन्टरजस्तो संवेदनशील ठाउँमा बत्तीको भरपर्दो व्यवस्था छैन ।”

स्वास्थ्यचौकीमा बिजुली नभएका बेला ‘ब्याकअप’ को व्यवस्था नहुँदा समस्या हुने गरेको स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक अनिता कार्कीले बताइन् । “हामीले ब्याट्री राखिदिन गलकोट नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गर्दै आएका छौँ तर सुनवाई भएको छैन”, उनले भनिन् ।

बेलाबेलामा बिना सूचना काटिने विद्युतले त्यहाँका स्वास्थ्यकर्मीलाई समस्या हुने गरेको छ । बर्थिङ सेन्टर रहेको स्वास्थ्यचौकीमा चालु आर्थिक वर्षमा १९ जना सुत्केरी भएका छन् । अधिकांश रातिको समयमा सुत्केरी हुँदा स्वास्थ्यकर्मीले विद्युत काटिएका बेला समस्या भोग्ने गरेका हुन् ।

“एक त हामीसँग प्रयाप्त जनशक्ति छैन, भएको जनशक्तिले काम गरिरहेका बेला एकजनाले मोबाइलको लाइटको व्यवस्था गर्नुपर्छ”, कार्कीले भनिन्, “हामीसित मोबाइल कोखमा च्यापेर सुत्केरी गराएका धेरै अनुभव छन् ।” यो समस्या गलकोट नगरपालिकाका स्वास्थ्य संस्थामा मात्रै होइन, बागलुङका अधिकांश स्वास्थ्य संस्थामा छ । स्थानीय तहले विद्युतको वैकल्पिक व्यवस्था गर्न नसक्दा स्वास्थ्यकर्मीले आकस्मिक उपचार तथा प्रसूतिको समयमा सास्ती ब्यहोर्नुपरेको हो ।

गाउँपालिकाले भने सबै स्वास्थ्य संस्थामा ‘ब्याकअप’ पु¥याउने योजना बनाएको बताएको छ । “क्रमैसँग सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउँछौँ, एकै पटक बजेटका कारण सम्भव छैन”, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?