साझा कथा । नयाँ सभामुख चयन गर्नका लागि बिहीबार प्रतिनिधिसभाको बैठक चलिरहेको छ । सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन् भने कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । निर्वाचनअघि बोल्ने सांसदहरुले आफ्ना उमेदवारलाई भोट मात्र मागेका छैनन्, पिँजडादेखि मायापिरिमका चर्चा गरेका छन् । कसैले सभामुख चयनका लागि आफ्ना उमेदवारको पक्षमा माहौल बनाउँदै गर्दा केहीले भने संसद बैठक स्थगीत गरेर आफ्नो दललाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने माग गरे ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गरेका हुन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बैठक स्थगित गरेर आफ्नो दललाई पहिला प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्ने तर्क समेत गरे । सांसद सुवालले सरकारलाई समर्थन गर्ने दल नेपाली काँग्रेस कानुनी हिसावले र विज्ञहरुको सुझावको आधारमा पनि प्रमुख प्रतिपक्ष दल बन्न नमिल्ने भएकाले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गरेर मात्रै प्रतिनिधिसभा बैठकलाई अघि बढाउनुपर्ने कानुनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउन पनि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणा र संघीय संसद सचिवालयको गम्भिर ध्यानाकर्षण गराए ।
नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने खुबी सांसद देवराज घिमिरेमा रहेको भन्दै सभामुखमा विजयी गराउन आग्रह गरे । उनलेअहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने काम सभामुख उम्मेदवार घिमिरेले मात्रै सक्ने जिकिर पनि गरे ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको जानकारी गराए।पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली काँग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउँदै हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका हुन् । उनले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको पनि बताए ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रखुच सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गरे । सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्दै प्रमुख सचेतक पाण्डेले संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन उहाँलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क गरे ।
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्दै घिमिरे सभामुख पदको लागि सुयोग्य पात्र भएको जिकिर गरे ।
उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आम नागरिकलाई प्रतयक्ष सरोकार राख्ने शिक्षा,स्वास्थ्य लगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताए । लामिछानेले शिक्षा,स्वास्थ्यका विषयमा सरकारले आवश्यक नीति बनाउन चुकेको बताउँदै आम नागरिकलाई प्रतयक्ष सरोकार राख्ने शिक्षा,स्वास्थ्य लगायतका विषयमा लाभहानी हेरेर काम नगर्न र जनताका मर्म नभुलि काम गर्न अपिल गरे ।
नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले भने सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई झैँ सभामुख उम्मेदवार इश्वरी न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने भन्दै उनले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने दाबी गरे ।
नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको प्रसंग उठाए । उनले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत बताए । संविधानले ग्रहण गरेको अवलम्वन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने उनको भनाई थियो । ओलीको भनाइले संघीयता नै खतरामा रहेको आशंका उब्जिएको बताउँदै उनले सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको पनि बताए ।
निधिले आफूहरुले विश्वासको मत दिँदा एमाले अध्यक्ष दुःखी हुनुको अर्थ के हो भनेर प्रश्न समेत गरे । कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको प्रतिवाद गरे । ओलीले त्यसबेला कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापेको हो भने त्यसमा माछा नपर्ने बताएका थिए ।
न्यौपानेका प्रस्तावक एवं कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीको प्रतिवाद गर्दै भने, ‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न योजना पनि छैन । तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु ।’
आफू प्रधानमन्त्री भएको बेला उच्चस्तरीय राजनीतिक संयन्त्र बनाऔं भन्दा संविधानले दिँदैन भनेका ओलीले प्रचण्ड प्रधानमन्त्री हुँदा संयन्त्रको नेतृत्व लिएकोतर्फ संकेत गर्दै शर्माले भने, संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोज्नु हो ।’
एमालेका सचिव योगेश भट्टराईले कांग्रेस नेताहरुलाई जवाफ फर्काए । मनबाटै विश्वासको मत दिएको होला भन्ने लागेको भएपनि अहिले राजनीतिक टिकाटिप्पणी भइरहेको भन्दै उनले भने, ‘कतै त्यो विश्वासको मत जानुपर्ने अर्कातिर, लगाएको आँखा अर्कातिर हो कि भन्ने आभास भइरहेको छ ।’
चुनावअघि बनेको कोर्स अगाडि जाँदासम्म आफूहरु प्रतिपक्षमा बस्न तयार भएको उनले स्मरण गरे । पुस १० गते अपराह्न राजनीतिको कोर्स बदलिएको भन्दै उनले उनले भने, ‘त्यसअघि हामीले सभामुख पनि मागेनौं, राष्ट्रपति पनि मागेनौं । हाम्रो दल प्रतिपक्षमा बस्छ भनेका थियौं ।’ प्रमोद खरेलको माया गर्ने मुटुले हो, निधारले होइन भन्ने गीतको चर्चा गर्दै भट्टराईले भने, ‘यदि प्रधानमन्त्रीज्यूलाई विश्वासको मत मुटुले दिएको हो भने देवराज घिमिरेले पनि त्यो मत प्राप्त गर्नुपर्छ । यदि त्यो निधारतिर हो भने त्यसमा केही भन्नु छैन ।’