साझा कथा । प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । सभामुखमा निर्वाचित भएका देवराज घिमिरे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् । उनी एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ इञ्चार्ज पनि हुन् ।
प्रतिनिधिसभाका २७५ सदस्य मध्ये उनको पक्षमा १६७ मत परेको छ । भने विपक्षमा १०० मत पर्यो । मतदान प्रक्रियामा २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।
घिमिरे २०७९ मंसिर ४ गते भएको निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनी प्रतिनिधि सभाको पहिलो कार्यकालमा नै सभामुख हुन सफल भएका छन् । २०१३ साल जेठ १३ गते ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नम्बर ३ सिकैचामा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट वि.सं.२०२९ सालमा एस.एल.सी उत्तीर्ण गरेका थिए । धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आई.ए. र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन गरेका थिए ।
निम्न मध्यम परिवारमा जन्मिएका घिमिरे वि.सं. २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका थिए । घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी ९कोके०गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए । २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटिएका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।
यसअघि उनी २०५६ सालमा राष्टिय सभा सदस्य भएका थिए ।