साझा कथा,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । आज बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । ‘‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु।’’ प्रधानमन्त्रीले भने, ‘‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।’’
नेपालमा अहिले वर्षमा करिब ३ सय मिर्गौला प्रत्यारोण हुँदै आएको छ। त्यसमा २ सय शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाहरूले वर्षमा १ सय बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘‘नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो। त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको छ। मिर्गौला प्रत्यारोपणका लागि वार्षिक रुपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न पनि भूमिका खेलको छ। यसका लागि केन्द्रलाई धन्यवाद दिन्छु।’’
यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक रहेको कार्यक्रमका वक्ताहरुले बताए । सरकारले, ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। त्यसका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउका लागि सरकार गम्भीर रहेको प्रधानमन्त्रीले बताएका छन् ।’’