बाँकेमा फैलिँदै दादुरा संक्रमण

साझ कथा,
बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए । उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा एक सय ९१,नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा तीन जना र कोहलपुर नगरपालिकामा दुई जना दादुराका बिरामी फेला परेका छन् ।

जिल्लामा अहिलेसम्म दादुराका कारण एक जनाको मृत्यु भएको छ भने ५८ जनको घरमै उपचार भईरहेको छ । दादुरा लागेर एक सय ५० जना निको भइसकेका छन् । नेपालगञ्जका ३१ हजार ४२ जना र खजुराका पाँच हजार नौ सय ७४ जना गरी ३७ हजार १६ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको खोप फोकल पर्सन श्रेष्ठले बताए ।

नरैनापुर गाउँपालिकामा दादुराका बिरामी भेटिएपछि बालबालिकालाई बिहीबारबाट दादुरा रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । दादुराको जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समूहका करिब चौध हजार २२ जना बालबालिकालाई खोप लगाइने नरैनापुर स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहले बताए ।

नरैनापुरमा फैलिरहेको दादुरा महामारी नियन्त्रणमा लिन खोप अभियान सुरु गरिएको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको उनको भनाइ छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?