काठमाडौं, माघ ७ गते । उपसभामुख चयनका लागि प्रतिनिधि सभा बैठक बानेश्वरस्थित संसद् भवनमा चलिरहेको छ । आज (शनिबार) दिउँसो १ बजेबाट बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का इन्दिरा राना मगर र नेपाली कांग्रेसका मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ ।
उपसभामुख पदको निर्वाचन मत विभाजनबाटै हुने संसद् सचिवालयले जनाएको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा उपसभामुख चुन्न बहुमत अर्थात् एक सय ३८ सङ्ख्या आवश्यक पर्छ ।
अर्जुनधारा– ८ निवासी समानुपातिकतर्फबाट निर्वाचित रानालाई नेकपा (एमाले) का ७९, नेकपा (माओवादी केन्द्र) का ३२, रास्वपा २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १४, जनता समाजवादी पार्टी (जसपा) को १२, जनमत पार्टी ६ सांसदको समर्थन निश्चित छ ।
सहिदनगर– १ धनुषा निवासी समानुपातिक सांसद यादवलाई कांग्रेसका ८८, नेकपा (एकीकृत समाजवादी) को १०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का चार र जनमोर्चाका एक सांसदको समर्थन पक्का छ ।
एक सिट भएको नेपाल किसान पार्टी (नेमकिपा) ले कसलाई मत दिने भन्ने तय गरिसकेको छैन । सभामुखमा सत्तापक्षलाई समर्थन गरेका स्वतन्त्र तीनजना सांसदले पनि उपसभामुखको मतबारे टुङ्गो गरिसकेका छैनन् ।
रास्वपाका सांसद मगरलाई सत्तारुढ दलको समर्थन रहेको छ । उनको प्रस्तावकमा रास्वपाकै सांसद सोविता गौतम छिन् भने समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्रप्रसाद लिङ्देन छन् ।
यसैगरी, कांग्रेसका सांसद यादवलाई सरकारमा सहभागी नभएका दलको समर्थन रहेको छ । उनको प्रस्तावकमा कांग्रेसकै सांसद बद्री पाण्डे छन् भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी) पार्टीका मेटमणि चौधरी छन्।
सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सशस्त्र युद्ध र सडक आन्दोलनबाट मात्र राजनीतिमा स्थापित भइन्छ भन्ने मान्यता तोडिदै गएको बताएका छन् ।
शनिबार प्रतिनिधिसभामा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरलाई समर्थन गर्दै उनले समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीतिमा स्थातिप हुन सकिने बताए । उनले भने, ‘राजनीतिक उपलब्धी भनेको सिर्फ सशस्त्र युद्ध वा सडक आन्दोलनबाट स्थापित हुन्छ भन्ने मान्यतालाई तोड्नु र समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीति स्थापित हुन्छ भन्ने स्थापित गर्नु भनेको कुनै व्यक्ति र दलको समर्थन गर्नु होइन ।’
नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले उपसभामुख प्रतिपक्षले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने बताए । सभामुखमा सत्ता पक्षको उम्मेदवार निर्वाचित भएपछि उपसभामुख प्रतिपक्षबाट निर्वाचित हुँदा राम्रो सन्देश जाने उनको भनाइ छ ।
शनिबार प्रतिनिधिसभामा मुक्ताकुमारी यादवलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सांसद पाण्डेले संविधानको आशय पनि उपसभामुख प्रतिपक्षले दिँदा उपयुक्त हुने किसिमको रहेको बताए ।
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संसद्मा संविधान च्यात्न र मास्न खोज्नेहरूको उपस्थिति जबरजस्ती बलियो बनिरहेको बताएएका छन् । उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै नेता चौधरीले संविधानको व्यवस्था व्यवहारिक कार्यान्वयन नगर्ने हो भने त्यो कार्यान्वयन गर्नका लागि होइन भनेर घोषणा गर्न प्रस्ताव गरे ।
‘संविधानलाई नष्ट गर्न पूर्वप्रधानमन्त्री ढुकेर बसिरहेकमे आरोप पनि लगाए । त्यस्ता व्यक्तिहरूको उपस्थिति संसद्मा महत्त्वपूर्ण भए फेरि संविधान च्यात्ने काम हुनसक्ने उनले बताए ।