प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन्। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बनेकी मगर १६६ मत ल्याएर निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गरे।
प्रतिनिधि सभाको बैठकमा उपस्थित २६४ मध्ये एक जनाले मत दिएनन् । रानामगरको प्रस्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङदेन थिए । त्यस्तै यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला थिए ।
प्रतिनिधि सभाको उपसभामुख निर्वाचित राना राजनीतिक क्षेत्रमा नयाँ हुन् । सामाजिक क्षेत्रमा अब्बल र कुशल नेत्रीका रूपमा स्थापित उनी मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधि सभाको सदस्य बनेकी हुन् । सामाजिक अभियन्ताको परिचयबाट राष्ट्रिय राजनीतिमा पदार्पण गरेकी मगर एक्कैपटक उपसभामुख बनेकी हुन्।