महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने परम्परा कतिपय समाजमा विद्यमान छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्किएकी छन्, गुल्मीको रेसुङ्गा नगरपालिका–८ की शारदा भुसाल ।
उनी विसं २०६३ देखि न्यूमैत्री डेरी उद्योग सञ्चालन गरेर उदाहरणीय बनिरहेकी छन् । आफैँले सुरु गरेको डेरी उद्योगबाट अहिले दूध खरिद, प्रशोधन र बिक्री हुने गर्छ । दैनिक तीन सय लिटर दूध बजारमा पु¥याउँछिन् । गुल्मीको चौरासी र अर्घाखाँचीको ढिकुरा, काउलेलगायतका स्थानबाट डेरीमा दूध आउने गर्दछ ।
शारदाले भैँसीको दूधमात्र खरिद, प्रशोधन र बिक्री गर्छिन्। बजारमा आवश्यक पर्ने दूध पर्याप्त मात्रामा आफूसँग उपलब्ध नभएको उनकाे भनाइ छ । गुणस्तरका आधारमा किसानसँग बढीमा प्रतिलिटर रु ९५ सम्म डेरी उद्योगले दिन्छ । यसलाई लिएर प्रशोधन गरेर प्रतिलिटर रु एक सय १० मा बिक्री हुन्छ । दूधबाट अन्य परिकार पनि बनाउन गरेको शारदाले बताइन् । दूधबाट दही, पनिर, कुराउनी, छुर्पी र अन्य परिकार शारदा आफैँले बनाउने बनाउँछिन् ।
डेरीबाट मासिक रु नौदेखि १० लाखसम्म कारोबार गर्ने उनले मासिक रु एक लाख बचत गर्ने गरेकी छन् । “जन्मपूर्वदेखि मृत्युपश्चात पनि दूध नै चाहिन्छ”, उनले भनिन्, “महिलाले आफैँ व्यवसाय गर्नुपर्छ भनेर निरन्तर मेहेनत गरेँ ।” व्यापार र व्यवसायको सन्दर्भमा पनि पुरुषमात्र अगाडि सर्ने र महिला अरुकै भर पर्ने बाध्यताको अन्त्यका लागि अगाडि बढेको शारदाको भनाइ छ । किसानसँग जोडिने व्यवसाय गर्नका लागि दुग्ध डेरी सञ्चालन गरेको तर पछिल्लो समय दूध उत्पादनमा कमी आएको शारदाको अनुभव छ ।
आफूसँगै सदरमुकाम तम्घासका दुग्ध व्यवसायी मिलेर सञ्चालन गरेको रेसुङ्गा दुग्ध डेरी प्रालिले १२ हजार लिटर दूध खपत गर्ने क्षमता छ । तर जिल्लाभर अहिले तीन हजार लिटर दूधमात्र उत्पादन हुने गरेको छ । स्थानीय पालिकाले किसानलाई दूध उत्पादनमा उत्साहित गराएमा जिल्लाका १२ पालिकाबाट एक हजार लिटर दूध आफुले खपत गर्न सक्ने भन्दै शारदाले किसान त्यसतर्फ उन्मुख हुनुपर्ने बताउँछिन् ।