राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिँदै उले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
राष्ट्रपतिले यस्ता चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको उल्लेख गरेकी छन्। सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वहरूले नेपालको सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लगेको बताएका छ्न्। तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गरेका छन्।
“हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्वहरू नेपालको गौरव हुन् ।”, उपराष्ट्रपति पुनले आफ्नो सन्देशमा भनेका छन्, “मान्यजनबाट टीका थाप्ने, आशीर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुकजस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने तथा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वका रूपमा पनि लिइने सोनाम ल्होछारले सम्पूर्ण नेपालीहरूका बीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु ।”