साझा कथा,
सुर्खेतमा आज विहान २ बजे डबल क्याप हाइलेक्स दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । एक जना भने घाइते भएका छन् ।
छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको बा. प्र. ०१०२६ च ९२१३ नं. को गाडी वीरेन्द्रनगर – ११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर – ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका – ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका – ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका – ३ का ३६ वर्षीय राजेन्द्र बि. सी. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए ।
दुर्घटना भएपछि उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरीले उद्धार गरी सबैलाई अस्पताल पुर्याएका थिए । अस्पतालमा पुर्याएका तीन जनाको चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । घाइते भएका दैलेख भैरवी गाउँपालिका – ५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । गाडी सडकबाट करिब ८० मिटर तल खसेको थियो ।