टुँडिखेलमा सोनाम ल्होसारको रौनक (फोटो फिचरसहित)

साझा कथा । तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोनाम ल्होसार पर्वलाई तामाङ समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाउने गर्दछन् । सोनाम ल्होसारमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
आइतबार राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम गरी उनीहरुले २८५९औँ सोनाम ल्होसार मनाए । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको स्मरण गराए । नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई राष्ट्रिय सम्पत्तिको संज्ञा दिए ।

ल्होसार पर्व केवल तामाङ समुदायको मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि भएको बताउँदै प्रचण्डले विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृति लोप भएर गएको र राष्ट्रिय संस्कृतिलाई विस्थापन भएको दाबी गरे ।

 

 

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?