साझा कथा । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बबताएका छन् । आज ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तिब्रताका लागि आफूहरु लागेको बताए । उनले महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच भएपनि ब्याजदर र मुद्रास्फितिको सम्बन्ध हुने बताए । अर्थमन्त्री पौडेलले निजी क्षेत्रले वित्तीय क्षेत्रमा पहुँचको माग गरेको भन्दै त्यसमा भएका कमीहरु र समाधानका उपायहरु सरकारलाई दिन आग्रह गरे । उनले राष्ट्र बैंक स्वायत्त कानूनको आधारमा सञ्चालित स्वायत्त संस्था भएकाले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप नगर्ने समेत बताए ।
अर्थमन्त्री पौडेलले लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवद्र्धन गर्ने र यस क्षेत्रका समस्या कसरी समाधान गर्ने भन्ने सार्थक उपाय खोज्नुपर्ने बताए । उनले वर्तमान सरकार कुनैपनि नीति बनाउँदा र निर्णय गर्दा सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै निर्णय गर्ने पक्षमा रहेको बताए । उनले सरकार साना उद्योगका समस्या केलाएर निवारणका लागि लाग्ने पनि बताए ।
अर्थमन्त्री पौडेलले प्रोजेक्ट फाइनान्सिङको व्यवस्था नगरीकन निजी क्षेत्रलाई अघि बढाउन नसकिने बताए ।