पाँच महिनादेखि स्वास्थ्य चौकीमा छैन सिटामोल

साझा कथा । जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन ।

एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधिको अभाव भएको हो । बीस लाखभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि पटक–पटक ‘कोटेसन’ गरेर औषधि खरिद गरेको पाइन्छ तर यहाँ पाँच महिनादेखि औषधिको अभाव भएको छ । दुई पटक थोरै परिमाणमा औषधि बोलपत्र आह्वान नगरी ल्याइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले बताए । “औषधि छिट्टै आउँदैछ, स्वास्थ्य संयोजक काठमाडौँबाट आएपछि बाँड्ने योजना छ,” उनले भने । बिरामीलाई स्वास्थ्यकर्मीहरूले औषधि नदिने र सिटामोललगायत अन्य औषधिहरूसमेत निजी मेडिकलबाट किनेर खानोस् भनेर पठाउने गरेको स्थानीय बताउँछन् ।

चिसोका कारण रुघाखोकी र ज्वरोले ग्रसित बन्न थालेपछि उपचारका लागि स्वास्थ्य संस्था जाने र खाली हात फर्किने कैलो र सकरे जस्तै धेरै बिरामी छन् ।एक्स–रे मेसिन पाँच वर्षदेखि प्रयोग विहीन प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको एक्स–रे मेसिन प्रयोगविहीन भएको छ । पाँच वर्षअघि खरिद गरिएको एक्स–रे मेसिन हालसम्म पनि प्रयोगमा आएको छैन । स्वास्थ्य केन्द्रमा विद्युत् र भवन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रलाई पाँच वर्षपहिला राष्ट्रिय बीमा संस्थानले रु १६ लाखको एक्स–रे मेसिन दिएको थियो । सोलार पावरबाट एक्स–रे मेसिन चलाउन नसकेपछि प्रयोगमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका प्रमुख बलबहादुर शाहीले बताए । “विद्युत् अभावकै कारण एक्स–रे मेसिन प्रयोगमा ल्याउन सकिएको छैन,” उनले भने । विद्युत नआउँदासम्म जेनरेटरबाट मेसिन चलाउन सकिने भए पनि जेनेरेटर र भवनका लागि पालिकासँग माग गर्दा सुनुवाइ नभएको उनले बताए । स्वास्थ्य केन्द्र एक्स–रे सेवा नहुँदा यहाँका बिरामी सामान्य उपचारका लागि पनि नेपालगञ्ज र सुर्खेत जानुपर्ने बाध्यता रहदै आएको छ ।
–––

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?