कर्णाली प्रदेशमा पहिलोपटक मिर्गौला प्रत्यारोपण, सात लाख सरकारले दिने

साझा कथा । कुनै समय सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा अहिले विकट बनेको छ । दुर्गम बस्ती जस्तै देखिने गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ मा पर्छ । तत्कालीन समयमा औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठीकाँडा अहिले असुरक्षित र दुर्गमजस्तै बनाइएको छ ।

सुर्खेतको सदरमुकाम हुँदा विसं २०१९ मा स्वास्थ्य केन्द्र स्थापना भइसकेको गोठीकाँडामा अहिले प्रदेश अस्पताल बनेको छ । उक्त स्वास्थ्य केन्द्र विसं २०२४ तिर सुर्खेत उपत्यकामा झारिएको थियो । विसं २०२९ मा १५ शय्याको जिल्ला अस्पताल बन्यो । त्यसको ठिक २० वर्षपछि २०४९ सालमा २५ शय्याको अस्पताल बनेर सेवा विस्तार ग¥यो ।

त्यस्तै विसं २०६२ फागुन ७ गते ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रुपान्तरण भयो । मुलुक सङ्घीय संरचनामा गइसकेपछि भने विसं २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालको संरचना बन्यो । प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य संरचना भइसकेपछि प्रदेश सरकारको मुख्य र सङ्घीय सरकारको केही आर्थिक सहयोगमा विशेषज्ञ सेवासहितको दुई सय ९७ शय्यामामा आफ्नो सेवा विस्तार गरेको छ ।

अहिले यसले आफ्ना विभिन्न सेवा विस्तार गरेको छ । हाल प्रदेश अस्पतालले मेडिसिन, गाइनो, जनरल सर्जरी, न्यूरो सर्जरी, अर्थोपेडिक्स, पेडियाट्रिक्स, डर्माटोलोजी, साइकेयाट्रिक, इएनटी, अप्थालमोलोजी, प्याथोलोजी, डेन्टल, रेडियोलोजी, एनेस्थेसिया र इमर्जेन्सी विभागबाट सेवा सञ्चालन गर्दै आएको अस्पतालका निर्देशक प्रा. डा. डम्बर खड्काले जानकारी दिए ।

मिर्गौला प्रत्यारोपण हुँदै

कर्णाली प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको छ । आफ्नो स्थापनाको ६० वर्षपछि इतिहासमा पहिलोपटक प्रदेश अस्पतालले यहि माघ १४ गते मानव अङ्ग प्रत्यारोपणको कार्य प्रारम्भ गर्नेछ । अस्पताल निर्देशक डा. खड्काले प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभागबाट इजाजत लगिसकेको जानकारी दिए । प्रत्यारोपणका लागि बिरामीले डेढ लाख खर्च गर्नुपर्ने र सात लाखसम्म सरकार आफैँले व्यहोर्ने खड्काको भनाई छ ।

कर्णाली प्रदेश अस्पतालले ९९ प्रतिशत बिरामीलाई उपचार सेवा दिएको तर एक प्रतिशत बिरामीमात्र सिफारिस गरेको र आगामी चैतबाट एमआरइ मेसिन जडान गरिने निर्देशक डा खड्काले जानकारी दिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?