नेपाली चलचित्रको साइनो मधेससँगै त्यति गाढा छैन । मधेशबाट नेपाली फिल्म टाढा छ । बरु, मधेशले भोजपुरी फिल्मलाई आत्मसात गर्छ । किनकि, नेपाली फिल्ममा न मधेशले आफ्नो कथा भेट्छ न आफू जस्तै पात्र । मधेशसम्म पनि नेपाली फिल्म पुग्न सकेको छैन । यसतर्फ न राज्य गम्भीर छ न फिल्मकर्मीहरु ।
अभिनेता दयाहाङ राई नेपाली फिल्मले मधेशलाई छुट्याइसकेको दाबी गर्छन् । अभिनेत्री निशा अधिकारीको पडकास्टमा उनले भनेका छन्, ‘मधेशको कथा हामीले भन्नै सकेका छैनौं । मधेश त हामीले छुट्याइसकेका छौं । त्यहाँको मान्छेले फिल्म के कारणले हेर्छ ? न उनका कथा देख्छन् न उनका अनुहार । कोशिश चाहिँ भैरहेको हो तर समावेशी बनाउन हाम्रो सोच परिवर्तन हुनुपर्छ ।’
नेपाली फिल्म समावेशी हुन खोजेको भए पनि परम्परागत सोचले रोकिएको उनको बुझाई छ । ‘परम्परागत सोचले नेपाली फिल्म समावेशी हुन सकेको छैन । विशेषगरी लैंगिकताको हिसाबले । के भन्लान् भन्नेदेखि क्षमता भए त देखिहाल्थ्यो नि भन्ने कुरा गरिन्छ । र, क्षमता भन्ने कुरा सबैको आ-आफ्नो हुन्छ,’ उनले भने । फिल्ममा महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको उनको जिकिर छ ।
नेपाली फिल्ममा महिला प्राविधिकदेखि निर्देशकसम्म कम रहेको बताउँदै उनी यसको कारणबारे भन्छन्, ‘यो अरु केही कारणले होइन, सोचका कारणले हो । स्पेश लिने/दिने कुरामा उसले सक्दैन कि भन्ने कुरा आउँछ । विचराको हिसाबले सोचिन्छ । यो सोच परिवर्तन गर्न आवश्यक छ ।’ नेपालमा बन्ने गरेका भाषिक फिल्म प्रचार र ज्ञानको हिसाबले ठूलो महत्त्व बोक्ने उनको भनाई छ ।