साझा कथा । मंगलबार संसद भवन बाहिर आत्मदाह गर्ने मृतक प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन माग राखेकी छन् । श्रीमानको निधनपछि भेट्न आइपुगेका गृहमन्त्री रवि लामिछानेसँग कुरा गर्दै नानुकाले उनीहरुको शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमानले लिएको आर्थिका ऋण सरकारबाट तिरिदिन आग्रह गरिन् ।
साथै उनलले देशमै केही गरौँ भन्ने मान्छेलाई प्रशासन र सरकारले सहयोग गर्नुपर्ने माग राखेकी छन् । नानुकाले केही व्यक्तिहरुले १५ पटक अनुदान पाउँदा आफूले भने फारम भर्नसमेत लाखौं खर्च गर्नुपरेको जानकारी गराइन् ।
उपप्रधान एवं गृहमन्त्री लामिछानेले मंगलवार संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभुति प्रकट गरे । परिवारलाई भेट्न बुधवार कीर्तिपुर अस्पताल पुगेका लामिछानेले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरुबाट वाक्क भएर केही गर्नको लागि राजनीतिमा प्रवेश गरेको दावी गरे । अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरुमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै गृहमन्त्री लामिछानेले मृतक आचार्यले उठाउनुभएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिवद्धता व्यक्त गरे । आफूबाट भएका कमी कमजोरी पनि नियाल्ने र बाँकी कुरामा आफू गम्भीर भएर लाग्ने गृहमन्त्रीको भनाई थियो ।
उनले भने, ‘अहिले दुःखको बेला, अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरुबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ, नयाँ छु, समय लाग्नसक्छ, उहाँले भन्नुभएको सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ, हामीले छानबिन
गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु, म भएकै काममा भाग बन्न आएको होइन ।’
गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरुले शव बुझेका छन् । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षिय आचार्यको बुधवार बिहान उपचारका क्रममा निधन भएको थियो ।