साझा कथा ।
कतिले नचिनेको नाम । धेरैले सम्झिरहने नाम । कतिलाई वास्तै नभएको नाम । कतिले नविर्सने नाम । कतिले विर्सिएको नाम, कतिलाई उनी भइदिए अहिले कस्तो हुन्थ्यो भन्ने नाम । सिमित मान्छेहरुको लागि दुष्ट, धेरैको इष्ट, नेपाली समाजलाई ठूलो योगदान दिएर अलप भएका डोरबहादुर विष्ट ।
म अलप हुन चाहन्छु भनेर बेला बेला लेख्ने र बोल्ने डोरबहादुर विष्ट आजभन्दा २७ बर्षअघि २०५२ साल पुसको अन्तिम साता साँच्चिकै अलप भए ।
१९५० को दशकमा नेपाली समाजमा वेग्लै पहिचान बनाएका एक बुद्धिजीवी डोरबहादुर विष्ट जसको अभाव आज खड्किरहेको छ । नेपाली समाजको पछौटेपनको कारण खोतल्ने, नेपालमा समाजशास्त्र र मानवशास्त्रको महत्व बुझाउने र विश्व मानवशास्त्रको मानचित्रमा नेपाल र नेपालीको दह्रो उपस्थिति दर्शाउने उनै डोर बहादुर विष्टको जीवन र योगदानबारेको चर्चा गर्दैछौँ ।
म अलप हुन चाहन्छु भनेर बेला बेला लेख्ने र बोल्ने डोरबहादुर विष्ट आजभन्दा २७ बर्षअघि २०५२ साल पुसको अन्तिम साता साँच्चिकै अलप भए । आजभन्दा ९६ बर्षअगाडीको माघ ४ मा डोरबहादुर विष्ट ललितपुरको झरुवारासीमा जन्मिए । तर मृत्युको खबर भने अहिलेसम्म कसैलाई थाहा छैन ।
पूर्वमन्त्री केशरबहादुर विष्टका पिता डोर बहादुर विष्ट अप्रत्याशित रूपमा अलप हुनु र खोजी निरन्तर रहनुले उनलाई देश र विदेशमा समेत चासो र चर्चाभन्दा बाहिर रहन दिएन । उनको पुस्तक पनि चर्चाको केन्द्रमा निरन्तर रहिरह्यो । संभवतः आजसम्म सबैभन्दा बढी समीक्षा भएको नेपाली मानवशास्त्रीको अंग्रेजी भाषाको पुस्तक हो, भाग्यवाद र विकास ।
भनिन्छ, डोरबहादुर विष्टले जब ‘फ्याटालिजम एन्ड डेभलपमेन्ट’ (भाग्यवाद र विकास) नामक किताब १९९१ मा लेखे, तब नेपाललगायत विदेशका ठूलाठूला विद्वान भनाउँदाहरुको दिमागको बत्ती निभेको थियो । तर विष्टको उक्त किताबकै कारण नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका मानिसहरुको दिमागमा भने सकारात्मक बत्ती बलेको थियो ।
समाजलाई आधुनिकतातर्फ लैजाने विषयमा लामो समय खोज अनुसन्धान गरेका विष्टले पहिलो नेपाली मानवशास्त्रीको परिचय मात्र बनाएनन्, मानवशास्त्रका पिता पनि कहलिए ।
विष्टले त्यसअघि नै सन् १९६७ मा ‘पिपुल अफ नेपाल‘ (नेपालका मान्छेहरु) नामक किताब लेखेर प्रकाशित गरिसकेका थिए । उक्त किताबले नै डोरबहादुर विष्टको क्षमता र विद्धता विश्वभर फैलाएको थियो । ‘सबै जातको फूलबारी‘ नामक अर्को किताब त दलित, खसलगायत नेपालका धेरै आदिवासी जनजातिहरुका लागि सञ्जीवनी बुटी नै सावित भयो ।
नेपाली मानवशास्त्रको संस्थागत, विधागत, परम्परा स्थापना र ज्ञानको प्रयोगात्मक अनुसन्धानका दृष्टिले विष्ट हालसम्मकै अग्रणी व्यक्ति हुन् । विष्टले भने, बाहुनवाद, भाग्यवाद, आफ्नो मान्छे, चाकरी आदि नेपाली समाज पछौटेपनमा रहनुको कारण हुन् । उनले यसलाई नेपालको आधुनिकीकरणको पथको अवरोध भनेका छन् । जुन आज पनि उत्तिकै सान्दर्भिक छ ।
उनलाई चिन्नेहरु भन्छन्, उनी असाध्यै सरल र सहज थिए । चिटिक्क पारेर लगाएको शर्टपाइन्ट, मिलाएर कोरेको जुल्फी र हँसिलो मुद्रामा विष्ट भव्य लाग्थे । उनी युवा विद्यार्थीलाई प्रोत्साहन गर्थे, उनका कक्षाहरु रोचक र आकर्षक हुन्थे । उनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक थिए । उनकै पहलमा विश्वविद्यालयमा मानवशास्त्र र समाजशास्त्र विभागको स्थापना गरिएको थियो ।
आफूलाई ‘मतवाली खस’ भन्न मन पराउने डोरबहादुर विष्ट नेपालका राजालाई मगर जातिको सन्तान भन्थे । नेपालको विकासमा सबैभन्दा ठूलो तगारो बाहुनवाद र भाग्यवाद हो भन्ने मान्यतामा दृढ थिए उनी ।
राज्यसत्ता र विद्रोही पक्षका दुबै अतिवादीहरु उनीप्रति सहिष्णु थिएनन् । उनी वेपत्ता हुनुपछाडी यी कारक पनि हुन सक्छन् । वा उनको आफ्नै मनोविज्ञान र पारिवारिक समस्या पनि हुन सक्छन् ।
‘रिपोर्ट फ्रम ल्हासा’ र सोताला समेत लेखेका विष्टले जीवनको उत्तराद्र्धमा जुम्लाको चौधबीसामा कर्णाली इन्स्टिच्युट स्थापना गरेर त्यहाँको विकास कार्यमा योगदान गरे । जुन कर्णालीकै सबैभन्दा ठूलो शैक्षिक संस्था थियो । विष्टले जुम्लाका चार वटा गाविसमा लघु जलविद्युत आयोजना स्थापना गरी गाउँहरु उज्यालो पारिदिएका थिए ।
नेपालमा अध्यापन गर्दै गर्दा उनलाई फ्रान्स, अमेरिका, वेलायत, जापान लगायत मुलुकका विश्वविद्यालयले आकर्षक सेवा सुविधा सहित प्राध्यापनका लागि अफर समेत गरेका थिए । काठमाडौंको सुखसयलपूर्ण जीवन यसै स्वर्ग थियो । यी अवसरका बावजुद उनले कर्णाली रोजे । उनले मानिसको सोँच, सिद्धान्त र जीवनशैली परिवर्तन गरेर मात्र समतामुलक समाज निर्माण हुन्छ भन्ने मान्यता राख्दथे । सायद त्यहि मान्यताले उनलाई कर्णाली हुत्यायो ।
विष्टले २७–२८ बर्षअघि नै कर्णालीमा जिटिए, अहेब, अनमी लगायत कृषि र स्वास्थ्यसँग सम्बन्धित प्राविधिक जनशक्तिहरु गाउँमा परिचालन गरेका थिए । उनको प्रयत्न कर्णालीलाई कृषि, स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बनाउनु थियो । यतिमात्रै होइन, विष्टले कर्णालीको पहिचान बनेको मार्सी धानको उत्पादन वृद्धि गर्न, कर्णालीमा स्याउको सम्भाव्यता अध्ययन गरी डाँडाकाँडामा स्याउको विरुवा लगाउनदेखि भूगोल सुहाउँदो कृषि उत्पादन अभिवृद्धि गर्न कर्णालीका जनतालाई अभिप्रेरित गरे ।
डोरबहादुर विष्टले जुन विचार र सिद्धान्त बोेकेका थिए, त्यसले कतिपय मानिसलाई चिढ्याएको थियो । उनका जति प्रशसंक थिए, आलोचना गर्नेहरु पनि उत्तिकै थिए । राज्यसत्ता र विद्रोही पक्षका दुबै अतिवादीहरु उनीप्रति सहिष्णु थिएनन् । उनी वेपत्ता हुनुपछाडी यी कारक पनि हुन सक्छन् । वा उनको आफ्नै मनोविज्ञान र पारिवारिक समस्या पनि हुन सक्छन् ।
कारण जे सुकै होस्, उनी अलप भए तर नेपाली समाजलाई विर्सनै नसकिने गुन लगाएर गए । आज उनी हामीसँगै भएका भए उनले यो ३० वर्षको अवधिमा थप, नयाँ र संभवतः भाग्यवादको संस्करणभन्दा फरक सैद्धान्तिक अवधारणालाई स्थापित गराइसकेका हुन्थे । विष्ट त्यसरी अलप नभइदिएको भए मानवशास्त्रको नेपाली स्कूल पनि जबर्जस्त दृश्यमा हुने थियो । उनले रोजेको कर्णालीको चौधवीसले नेपाल लगायत विश्वलाई एक सफल मोडेल प्रस्तुत गरेको हुने थियो ।