साझा कथा । सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले देशको विषयमा कहिल्यै चिन्ता नगर्ने आरोप लगाएका छन् । काँग्रेसले सधैँ सरकारमा हुनुपर्छ भन्ने मात्रै मान्यता राख्ने गरेको जिकिर गर्दै ओलीले सत्ताको एकसुत्रीय नीति लिएर हिँड्ने गरेको आरोप लगाए ।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टी स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसले आफू सरकारमा सहभागी भए भईगो नि भन्ने एउटा मात्रै सुत्र लिएर हिँडने गर्ने समेत बताए । काँग्रेसले भन्ने गरेको लोकतन्त्र र विकास भनेको आफ्नो विकास मात्रै भएको ओलीको तर्क छ ।
अध्यक्ष ओलीले एमाले दलबल गरेर बाँडीचुडी खाने पार्टी नभएको पनि पटकपटक दोहो¥याए । उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ आफ्नो पार्टीको गन्तव्य भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष ओलीले स्वतन्त्र पार्टी र जनमत पार्टीतार्फ लक्षित गर्दै केही पार्टीहरु सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको भन्दै उनीहरुको राजनीति टिकाउ नहुने जिकिर गरे । मौसमी खालका कुरा गर्ने, सामाजिक असन्तुष्टिलाई उपयोग गरेर आउने पार्टीहरु स्थायी रुपमा रहन नसक्ने उनको भनाई छ ।