साझा कथा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजित शिला हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री अधिकारीले नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि प्रगाढ रहँदै आएको र अनन्तकालसम्म पनि यस्तो सम्बन्ध रहिरहने विश्वास व्यक्त गरे ।बुधबार क्रेनबाट दुई शिलालाई ट्रकमा राखेर प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा लगिएको छ । बिहीबार गलेश्वर शिवालय मन्दिर परिरसरमा राखिएका शिलालाई गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र गलेश्वर मन्दिरका अध्यक्ष माधवप्रसाद रेग्मीले विधिवत पूजाआजा गरेपछि हस्तान्तरण गरेका थिए ।
भूगर्भ तथा शिलाविद्, प्राविधिक र विज्ञसमेतको टोलीले बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकीमा दुई थान शिला पहिचान गरेको थियो । बेनी नगरपालिकाका प्रमुख केसीले कालीगण्डकीबाट लामो समय टिक्ने २६ टन र १४ टनका दुई थान शिला गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेश सरकारले मधेस प्रदेशको जानकी मन्दिरलाई हस्तान्तरण गर्दैै अध्योध्यालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।