साझा कथा । पछिल्लो समय पेट्रोलको प्रयोग गरी आत्मदाह गर्ने र झगडा पर्दा पेट्रोल खन्याइदिएर अरुको हत्या गर्ने विकृति बढेको छ । काठमाडौंको बानेश्वरमा इलामका प्रेमप्रसाद आचार्यले पेट्रोल छर्किएर आत्मदाह गरेको घटना सेलाउन नपाउँदै आइतबार पोखराका एक युवकले आफैँमाथी आगो लगाए । उनलाई बचाउन गएकी उनकी श्रीमतिको समेत निधन भइसकेको घटना सेलाउन नपाउँदै फेरि पेट्रोल छर्किएर बाँकेमा अरुको हत्या प्रयास भएको छ ।
आइतबार बेलुका पाँच बजेतिर कोहलपुर–१ शान्तिनगरका एक युवकले आफ्नो श्रीमती र नाबालक छोरालाई आगो लगाइदिए। सोहि दिन ३२ वर्षका भानुभक्त विक र उनकी श्रीमती गंगा विकको झगडा भएको थियो । झगडाकै क्रममा भानुभक्तले गंगा र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए।
जलेर गम्भिर घाइते भएपछि प्रिन्सको निधन भएको छ । उनको सोमबार बिहान निधन भएको हो । प्रिन्सको कम्मरभन्दा माथिको भागमा असर परेको थियो । आमा गंगाको भने उपचार चलिरहेको छ । गंगाको शरिर २० प्रतिशत जलेको छ । विशेषगरी, उनको घाँटी, हात, कान लगायतका भागमा गम्भिर रुपमा जलेको छ । श्रीमति र छोरामाथि पेट्रोल छर्केर आगो परैबाट फालिदिएपछि भानुभक्त भारततर्फ भागेका थिए । उनलाई प्रहरीले राती नै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।
पेट्रोललाई हतियार बनाउन थालेसँगै प्रहरीले पेट्रोलियम पदार्थको खुल्ला विक्रि वितरणमा रोक लगाउन खोजेपनि त्यो व्यवहारिक कडाइ नभएको देखिएको छ ।