राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तोकियो, माओवादी र एमालेका आ–आफ्नै दाउ

साझा कथा ।  निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ । राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुने गरी आयोगले मिति तोकेको हो । आयोगले गरेको निर्णय नेपाल सरकारका मुख्यसचिवमार्फत मन्त्रिपरिषद्लाई लेखी पठाउने छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  राष्ट्रपतिको निर्वाचनका लागि १० फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, १० र ११ गते दाबी, बिरोध र उजुरी, ११ र १२ गते निवेदन तथा उजुरी उपर छानबिन गर्ने कार्यतालिका बनाएको जानकारी दिए ।

आयोगले १२ फागुनमा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने, १३ गते मनोनयन पत्र दर्ता गर्ने, १३ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने, १४ गते उम्मेदवारको बिरुद्धमा उजुरी दिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने जनाएको छ ।

त्यस्तै १५ फागुनमा उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गते साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने २५ फागुनमा मतदान गर्ने आयोगका प्रवक्ता पौडेलले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २८ फागुन २०७९ मा सकिँदै छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।

राष्ट्रपतिमा सत्तागठबन्धनको तर्फबाट नेकपा एमालेले राष्ट्रपति पाउने सहमति भएपनि राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने कुरा प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेपछि यो विषय गिजोलिएको छ । राष्ट्रपतिमा काँग्रेसको तर्फबाट रामचन्द्र पौडेल र कृष्ण सिटौला प्रस्तावित भइसकेका छन् भने एमालेले उमेदवार तोकिसकेको छैन । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा काँग्रेसको उमेदवारलाई सघाएर आफूलाई समर्थन दिएको गुन तिर्न चाहन्छन् । सँगै प्रधानमन्त्री पद आलोपालोमा चलाउने सहमति गरेका माओवादी र एमालेको आफ्नै दाउ छ ।

प्रचण्डले प्रधानमन्त्री छाडेको दिन राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीनवटै महत्वपूर्ण संवैधानिक पद आफ्नो भागमा पार्न एमालेले जोड गरिरहेको छ । भने माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड सोही कारण एमालेलाई राष्ट्रपति नदिने पक्षमा छन् । तथापी सभामुखमा पनि एमाले र माओवादीबीच आलोपालो गर्ने सहमति भएको छ । निकट इतिहास हेर्दा दलहरुबीच सहमति पालना नभएका उदाहरण छन्, त्यसकारण पनि उनीहरुबीच शंका उपशंका चलिरहेको छ ।

माओवादीले डा. बाबुराम भट्टराईलाई राष्ट्रपतिमा लैजान चाहेको छ । यसमा काँग्रेसले भट्टराईलाई उमेदवार बनाइदिए सजिलो हुने माओवादीको अपेक्षा छ । माओवादीले भट्टराईलाई आफैँ प्रस्ताव गर्न एमालेसँगको सहमति नैतिक बन्धन बनेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?