साझा कथा । युवतीको प्रयोग गरेर अपहरण गरिएका झापा बिर्तामोडका २१ वर्षीय राजीव बस्नेत प्रहरीको सक्रियतामा अपहरणमा परेको १० दिनपछि मुक्त भएका छन् । सुनको कारोबार गर्दै आएका झापा बिर्तामोड नगरपालिका ३ भगवान् चौकका कमल बस्नेतका छोरा राजीव माघ ५ गते अपहरणमा परेका थिए । साथीसँग इलामको श्रीअन्तु घुम्न जाने भन्दै घरबाट निस्किएका बस्नेतलाई युवतिको प्रयोग गरी अपहरण गरिएको थियो ।
साथीसँग घुम्न जाने भनेका कारण उनको खोजतलासमा केही ढिलाइ भए पनि प्रहरीको सक्रियताले उनलाई सकुशल मुक्त गर्न सकिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताए । राजिवको अपहरण गरी रिहाइका लागि ४ करोड रुपियाँ फिरौती मागिएको थियो तर प्रहरीको सक्रियताले उनलाई सकुशल रिहा गर्न सफलता प्राप्त भएको हो ।
योजना सफल भएमा जनही २५/२५ लाख रुपियाँ दिएर विदेश पठाइदिने आशा देखाएको पाइएको छ ।
प्रहरीले अपहरणमा सहयोग गर्ने युवतीलाई घटना भएको २ दिनमै पक्राउ गर्न सफल भएको थियो । अपहरणकारीको पहिचान खुले पनि अपहरणकारीले युवकको हत्यासम्म गर्न सक्ने भयले प्रहरी बढी सतर्क भएर घटना अघि बढाएको थियो । अपहरण गरेर भारतको मणिपुर लगिएको पाइएपछि भारत मणिपुर राज्यका प्रहरीसँगको समन्वयमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो । सोही क्रममा अपहरणको मुख्य योजनाकारका रूपमा रहेका मणिपुरका राजु भण्डारीले पक्राउ पर्ने डरले किशोरलाई बिना सर्त बुट्टाबारीस्थित जङ्गलछेउमा छाडेको प्रहरी प्रमुख कुँवरले जानकारी दिए ।
व्यावसायिक साझेदार झापा बिर्तामोडका कमल बस्नेतबाट फिरौती असुलका लागि भारत मणिपुरका राजु भण्डारीले भाडाका मानिसहरू प्रयोग गरेर आफ्ना व्यावसायिक साझेदार बिर्तामोडका कमल बस्नेतका छोरा राजीवको अपहरण गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
भण्डारीकै योजना अनुसार उनले नेपालमा प्रतीक्षा योङ्हाङसँगको सल्लाहमा आफ्नो योजनालाई अगाडि बढाएको प्रहरीको भनाइ छ । योजना सफल भएमा जनही २५/२५ लाख रुपियाँ दिएर विदेश पठाइदिने आशा देखाएको पाइएको छ ।
विगत छ महिनादेखि योजना बनाएर कमलका छोरालाई युवतीको प्रेम जालमा पारेर अपहरण गर्न सफल बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अपहरणको मुख्य योजनाकारको पहिचान भएसँगै प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गर्ने योजना थाह पाएपछि मुख्य योजनाकार राजु भण्डारी बस्नेतलाई निःशर्त छोड्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरी अपहरणमा संलग्नमध्ये प्रतीक्षा योङ्हाङलाई बिर्तामोडबाट पक्राउ गर्न सफल भएको थियो भने उनी पक्राउ परेसँगै अपहरणका योजनाका बारेमा धेरै कुरा खुलेको थियो ।
अपहरणमा संलग्न भारतका शरद थापा मगर, एप्पल थापामगर, गुलाम, कृष्ण हजाम तथा चुनाव योङ्हाङको पहिचान गरेर खोजी कार्य तीव्र बनाएको जनाइएको छ । प्रहरीका अनुसार आपराधिक समूह निकै ठूलो रहेकाले उक्त समूहको खोजी गरेर पक्राउ गर्नका लागि सबै पक्षसँग समन्वय गर्ने काम भइरहेको छ ।