दिनभर हावा चल्छ तर हिउँ परेन मुस्ताङमा

साझा कथा । “जोमसोमे बजारमा, १२ बजे हावा सरर…” हेलिकोप्टर दुर्घटनामा परी निधन भएका तत्कालीन पर्यटनमन्त्री तथा एमालेका नेता स्व. रविन्द्र अधिकारीले लेखेको र नेपथ्यले गाएको यो गीत मुस्ताङमा गर्मी मौसमको समयमा लेखिएको थियो । जाडोमा अधिकाँश समय हिउँ परिरहने जोमसोममा माघ महिना सकिन लाग्दासम्म हिउँ परेको छैन । अहिले जोमसोममा १२ बजे मात्रै होइन, दिनभरजसो हावा चलिरहन्छ तर हिउँ परेको छैन ।

जोमसोम मात्र होइन, मुस्ताङका धेरै स्थानमा यतिबेला हिउँ परेर चिसो हुनुपर्ने हो तर यसपाली कुनै छाँटकाँट छैन । मध्यजाडो गुज्रिसक्दा पनि यसअघि सेताम्मे हुने मुस्ताङका ठाउँहरुका डाँडाकाँडा फुस्रा र नाङ्गा देखिएका छन् । गाउँबस्ती सुख्खा छन् । हिमपात नहुँदा किसानलाई पीर परेको छ । सिँचाई नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने अवस्था सिर्जना भएको छ । हिउँ नपरे उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बाली नसप्रने स्थानीयको भनाई छ । हिउँमा खुल्ने मुस्ताङका पर्यटकीयस्थल पनि उजाड देखिन थालेका छन् ।

घरपझोङ–२ मार्फाका दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने बताए । “चिस्यान पुगेन भने स्याउ उत्पादनमा ह्रास आउन सक्छ”, उनले भने, “मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिनुपर्ने अवस्था छैन ।” जौँ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने मौसमले चिन्ता थपिदिएको उनको भनाइ छ ।

थासाङमा सिँचाइको उचित प्रबन्ध छैन । हिमपात र वर्षा नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन प्रभावित भएको छ । लालचनले कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको बताउनुभयो । “यो वर्ष पुस, माघमा पनि उति साह्रो जाडो भएन”, लालचनले सुनाए ।

चिसो छल्न बेँसी र सहर झरेका मुस्ताङी पनि हिउँ नपरेको सुन्दा अचम्मित छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने जानकारी दिए । “स्याउको फूल फुल्न र फल लाग्न जति चिसोपना चाहिने हो त्यो पुगेन भने उत्पादन घट्छ”, उनले भने ।

“माघ घर्किन लाग्दासम्म हिमपात नुहुन जलवायु परिवर्तनको असर पनि हुनसक्छ”, बास्ताकोटीले भने, “यस्तो क्रम दोहोरिरहे हिमाली भेगमा नयाँ बालीले प्रवेश पाउने, रैथानेको उत्पादन घट्ने हुन्छ ।”
मुस्ताङमात्र नभएर गण्डकी प्रदेशका कुनै पनि हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन । छिटपुट वर्षासमेत हुनसकेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले गण्डकी प्रदेशमा तत्काल पानी पर्ने सम्भावना नरहेको बताए । आकाश धुम्म भए पनि अहिलेको मौसम प्रणालीले वर्षा नहुने उनको भनाइ छ ।

“यसपालिको हिउँदमा अहिलेसम्म हिमपात र वर्षा हुनसकेको छैन, नयाँ मौसम प्रणाली आएर वर्षा र हिमपात गराउन पनि सक्छ तर त्यो यकिन छैन”, मौसमविद् अधिकारीले भने ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?